अनेरास्ववियु विवाद : कडरिया पदमुक्त, धामीलाई नयाँ अध्यक्षको जिम्मेवारी

अनेरास्ववियु विवाद : कडरिया पदमुक्त, धामीलाई नयाँ अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेकपा (एमाले) को प्रभावशाली जनवर्गीय संगठन अनेरास्ववियु (अखिल) भित्रको लामो समयदेखिको नेतृत्व विवादले नयाँ मोड लिएको छ । संगठनको पदाधिकारी बैठकले निर्वाचित अध्यक्ष सुजन कडरियालाई पदमुक्त गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

यसअघि २३ भदौमा ‘जेन–जी’ आन्दोलनुका क्रममा विद्यार्थीहरुको मृत्यु भएपछि नैतिकताको आधारमा भन्दै कडरियाले सामाजिक सञ्जालमार्फत अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।सोमबार बसेको अखिलको पदाधिकारी बैठकले उनको सोही राजीनामालाई आधार मान्दै पदमुक्त गर्ने औपचारिक निर्णय गरेको हो ।
बैठकले रिक्त हुन आएको महासचिव पदमा वर्तमान उपाध्यक्ष अञ्जना शिवाकोटीलाई मनोनीत गर्ने निर्णयसमेत गरेको छ । बाँकी अन्य पदहरु भने हाललाई यथावत् रहने बताइएको छ । उपाध्यक्ष शिवाकोटीकै अध्यक्षतामा बसेको बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य तथा अखिलका इन्चार्ज किशोरविक्रम मल्ल प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

पदाधिकारी बैठकको यो निर्णयलाई अब सचिवालय र केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि पेश गरिने अनेरास्ववियुले जनाएको छ ।

भदौमा राजीनामा घोषणा गरेका कडरिया केही समयपछि पुनः संगठनको काममा फर्किएपछि विवाद चुलिएको थियो । उनको फिर्तीलाई तत्कालीन महासचिव दीपक धामी पक्षले अस्वीकार गर्दै आएको थियो । कडरियाले कायरतापूर्वक राजीनामा दिएर संगठनलाई गैरजिम्मेवार र अराजकतातर्फ धकेलेको धामीले आरोप लगाउँदै विज्ञप्ति नै जारी गरेका थिए ।