मानव उद्धार सेवा केन्द्रबाट तीन महिला फरार

मानव उद्धार सेवा केन्द्रबाट तीन महिला फरार

विराटनगर । झापाको दमक–२ स्थित मानव उद्धार सेवा केन्द्रबाट फरार भएका तीन महिलामध्ये एक जना भेटिएकी छिन् भने अन्य दुई जना सम्पर्कविहीन छन् ।

उद्धार केन्द्रबाट गत बिहीबार राति वर्ष ३४ की मिना तामाङ, वर्ष ३० की शान्ति मगर र वर्ष २४ की विनिशा गौतम गेट नाघेर भागेका थिए ।

तीमध्ये विनिशा गौतम दमक–४ स्थित सडकमा हिँड्दै गरेको अवस्थामा फेला पारिएको केन्द्रले जनाएको छ । गौतमलाई पुनः उद्धार केन्द्रकै जिम्मा लगाइएको छ । फरार तीनै जना महिलाको मानसिक अवस्था कमजोर रहेको उद्धार केन्द्रका संस्थापक सुमन श्रेष्ठले जानकारी दिए ।

तीन जनामध्ये तामाङको स्थायी ठेगाना भोजपुर हो भने अन्य दुई जनाको स्थायी ठेगाना पत्ता लागेको छैन । मानसिक तथा शारिरीक रुपमा अशक्त तथा अभिभावकविहीन नागरिकलाई संरक्षण गर्दै आएको केन्द्रमा हाल २८ जना आश्रित छन् । उनीहरुलाई विभिन्न स्थानबाट उद्धार गरी मानव उद्धार सेवा केन्द्रमा ल्याएर राखिएको हो ।

तीन महिला फरार भएको घटनाले उद्धार केन्द्रहरूको सुरक्षा र व्यवस्थापनबारे प्रश्न उठेको छ । उद्धार केन्द्रका कर्मचारीले महिलाहरू भागेको जानकारी इलाका प्रहरी कार्यालय दमकलाई तत्काल दिएका थिए । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।