निर्वाचनको कार्यतालिका सार्वजनिक, प्रत्यक्षतर्फ माघ ६ मा मनोनयन दर्ता

निर्वाचनको कार्यतालिका सार्वजनिक, प्रत्यक्षतर्फ माघ ६ मा मनोनयन दर्ता

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीका लागि विस्तृत कार्यक्रम घोषणा गरेका हुन्।

सार्वजनिक कार्यतालिका अनुसार, पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्नेछ। मनोनयन दर्ता सकिएलगत्तै सोही दिन साँझ ७ बजेसम्ममा उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ।

माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने, माघ ८ गते मनोनयन पत्र र उजुरीमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। उम्मेदवारले माघ ९ गते दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन साँझ ७ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रक्रिया मंसिर २० गतेदेखि सुरु हुनेछ। निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले मंसिर २१ देखि २३ गतेभित्र निवेदन दिनुपर्नेछ। दलहरूले पुस १३ र १४ गते बन्दसूची पेश गर्ने र आयोगले आवश्यक प्रक्रिया पूरा गरी माघ २० गते उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्नेछ। दुवै प्रणालीका लागि मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ।