भुसालले सार्वजनिक गरेको नेताको सूचीमा  महेश रेग्मीको नाम  समावेश

भुसालले सार्वजनिक गरेको नेताको सूचीमा महेश रेग्मीको नाम समावेश

विराटनगर । मोरङका नेता महेश रेग्मी नेकपा घनश्याम भुसाल नेतृत्वको (एकीकृत समाजवादी) पुनर्गठन अभियानमा खुलेका छन् । पू यस अभियानले सार्वजनिक गरेको २० जना नेताहरुको सूचीमा रेग्मीको नाम समावेश छ । अभियानले सार्वजनिक गरेको सूचीमा मोरङकै अर्की नेतृ नीलम ढुंगेलको नाम पनि रहेको छ ।

तत्कालीन नेकपा (एस) भित्र माधव नेपालको एकता पक्षधर र रामकुमारी झाँक्री नेतृत्वको एमालेमा फर्किने समूहबाट अलग रहँदै आएका नेताहरुलाई लिएर भुसालले नयाँ अभियान सुरु गरेका हुन् । अभियानका नेता दामोदर अर्यालका अनुसार, केही नेताहरु एमाले फर्किने र कतिपय एकतामा सामेल हुने चर्चा चलिरहेका बेला अभियानप्रति प्रतिबद्ध नेताहरूको सूची सार्वजनिक गरिएको हो ।

अर्यालले तत्कालीन नेकपा (एस) का १५६ जना केन्द्रीय नेता भुसाल समूहमा रहेको र त्यसमध्येबाट ६७ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको जानकारी दिए । बाँकी नेताहरुको नाम भने दुई समूहको तानातानमा पर्ने भएकाले मंसिर महिनाभित्र आयोजना हुने राष्ट्रिय भेलासम्म गोप्य राखिने उनले बताए ।

अभियानले २०२८ सालको झापा विद्रोहका सहभागी तथा नख्खु जेलब्रेकका योद्धा घनेन्द्र बस्नेतलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको छ । भुसाल स्वयं अभियानको संयोजक रहेका छन् । सार्वजनिक गरिएका अन्य प्रमुख नेताहरुमा पूर्वमन्त्रीहरु जीवनराम श्रेष्ठ, भवानी खापुङ, हरि पराजुली, उर्वादत्त पन्त, डाृविजय पौडेल, प्रदेश सांसदहरु लक्ष्मण लम्साल र नरेश शाही लगायत छन् ।

अभियानले मंसिरमा हुने राष्ट्रिय भेलामार्फत निर्वाचन आयोगमा दर्ता भएको कुनै एक दललाई आफ्नो दलको रुपमा स्वीकार गर्ने तयारी गरेको छ । केही केन्द्रीय सदस्यहरूलाई ‘नेकपा वामपन्थी केन्द्र’ नामक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पठाइएकाले उनीहरूको नाम हाल सार्वजनिक नगरिएको बताइएको छ ।