झापामा जंगली हात्तीको आतंक : सर्वसाधारणलाई सतर्क रहन आग्रह

झापामा जंगली हात्तीको आतंक : सर्वसाधारणलाई सतर्क रहन आग्रह

विराटनगर । जंगली हात्तीको बथान झापा जिल्लामा प्रवेश गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । मोरङको जंगलबाट आएका करिब २५ देखि ३० वटा बच्चासहितका हात्तीको बथानले पूर्व –पश्चिम राजमार्ग उत्तरका क्षेत्रमा आतंक मच्चाएपछि डिभिजन वन कार्यालय, झापाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार, यो बथान आज शिवसताक्षीधामस्थित रतुवामाई वृक्षारोपण वन क्षेत्रमा देखिएको छ । हात्तीहरू दिनभर जंगलमा बस्ने र राति आहाराको खोजीमा गाउँ पस्ने गरेकाले जनधनको क्षति हुन सक्ने भन्दै कार्यालयले रातको समयमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

डेढ वर्षअघि बाहुनडाँगीको प्रसादगौँडा हुँदै नेपाल प्रवेश गरेको ५०–६० हात्तीको बथानमध्ये केही भारत फर्किए पनि बाँकी हात्ती मोरङ र सुनसरीका जंगलमा बस्दै आएका थिए । अहिले झापा प्रवेश गरेको बथान तिनैमध्येको भएको र भारत फर्कने क्रममा यहाँ आइपुगेको अनुमान गरिएको छ ।

वन कार्यालयले हात्तीको गतिविधि निगरानी गरिरहेको र तिनीहरूको मार्ग पहिचान गरी सोही क्षेत्रमा सुरक्षा गस्ती केन्द्रित गरेको जनाएको छ । प्रमुख श्रेष्ठका अनुसार, यो बथान आगामी एकदुई दिनभित्र बाहुनडाँगीको प्रसादगौँडा हुँदै भारत फर्कने अनुमान गरिएको छ । त्यो अवधिसम्म स्थानीयवासीलाई रातको समयमा एक्लै हिँडडुल नगर्न र हात्तीसँग जम्काभेट भएमा उत्तेजित नपार्न आग्रह गरिएको छ ।