विराटनगरको त्रैमासिक समीक्षा टेन्टभित्र, तीन महिनामा १२ करोड राजश्व संकलन

विराटनगरको त्रैमासिक समीक्षा टेन्टभित्र, तीन महिनामा १२ करोड राजश्व संकलन

विराटनगर । जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवनसहितका संरचनामा क्षति पुगेपछि विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो त्रैमासिक समीक्षागोष्ठी टेन्टभित्र सम्पन्न गरेको छ ।

असामान्य परिस्थितिमा आयोजित समीक्षामा महानगरका शीर्ष नेतृत्व तथा विभिन्न महाशाखा प्रमुखहरूले तीन महिनाको कार्यप्रगति सार्वजनिक गरेका हुन् ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा आयोजित गोष्ठीमा आर्थिक, प्रशासनिक, सामाजिक विकास, पूर्वाधार, स्वास्थ्य, शिक्षा, राजस्वलगायत महाशाखाले आफ्नो–आफ्नो क्षेत्रको प्रगति विवरण पेश गरेका थिए । तीन महिनामा करिब १२ करोड राजश्व संकलन भएको सो अवसरमा जानकारी दिइएको छ ।

गोष्ठीमा राजस्व व्यवस्थापन महाशाखाप्रमुख सरोज गौतमले साउनदेखि असोज मसान्तसम्म महानगरले आन्तरिकतर्फ ११ करोड ९८ लाख २७ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिए । तीन महिनाको अबधिमा महानगरमा ३५ वटा व्यवसाय दर्ता हुँदा ३५ वटा खारेज भएको छ । यस्तै, ३ हजार ५५ वटा व्यवसाय नवीकरण गरिएको पनि गौतमले बताएका छन् ।

गोष्ठिमा आर्थिक विकास महाशाखाप्रमुख प्रतीक गड्तौला, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापा, आर्थिक प्रशासन महाशाखा प्रमुख संजीव भट्टराई, स्वास्थ्य महाशाखा प्रमुख डा। दिलीपकुमार यादव, शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगाना, कानुन शाखा प्रमुख शारदा थपलिया लगायतले आफ्नो महाशाखाले त्रैमासभर गरेका कामको विवरण प्रस्तुत गरेका थिए । यस्तै, सामाजिक विकास, भण्डारण, विपद् तथा वातावरण, सूचना शाखा तथा नगर प्रहरी प्रमुखहरूले पनि प्रगति प्रतिवेदन गोष्ठीमा राखेका थिए ।

जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ मा आगजनी भएको थियो । जसले सेवाप्रवाहमा समस्या देखिएको र स्थान अभावकै कारण समीक्षागोष्ठी टेन्टभित्र आयोजना गरिएको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिएका छन् ।

विराटनगर महानगरले असहज परिस्थितिमा पनि नियमित प्रशासनिक समीक्षा र योजना कार्यान्वयन निरन्तरता दिँदै अघि बढेको जनाएको छ ।