विराटनगर । कोशी प्रदेशमा लागुऔषध ओसारपसारविरुद्ध प्रहरीले चलाएको विशेष अपरेसन अन्तर्गत सुनसरीको धरान र इटहरीबाट करिब तीन क्विन्टल गाँजा बरामद गरिएको छ।
शनिबार साँझ र राति दुई छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीमा धरानबाट मात्रै २६८ किलो गाँजा फेला परेको कोशी प्रदेश प्रहरी कार्यालयका एसपी केवश थेवेले जानकारी दिए।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१७ र २० को सिमानामा पर्ने चम्पुले खोलाको जंगल क्षेत्रमा राति ११ः२५ बजे ठूलो परिमाणको गाँजा बरामद गरेको हो । गाउँबाट जंगलतर्फ सामान बोकेर गइरहेको समूहलाई देखेपछि करिब १०–११ जना फरार भएको र उनीहरूले फालेका १० वटा बोरामा प्याक गरिएको २६८ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बरामद गरिएको गाँजा सुरक्षित राखी इलाका प्रहरी कार्यालय धरानमार्फत थप अनुसन्धान अघि बढाइएको छ । फरार समूहको पहिचान र खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
यस्तै, शनिबार साँझ सुनसरीको इटहरी–१३ सोमबारे क्षेत्रमा प्रहरीले २५ किलो गाँजा बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त टोलीले गणेश पेट्रोल पम्पअगाडिबाट २ बोरा गाँजा सहित दुई जनालाई साँझ ५ः४० बजे पक्राउ गरेको हो । पक्राउ परेकामा इटहरी–१३ का २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदार छन् ।
दुवैलाई नियन्त्रणमा लिएर बोरा खोल्दा २५ किलो गाँजा भेटिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ र हाल उनीहरू इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।

