विराटनगर । इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतबाट फरार भएका सवारी अंगभङ्ग मुद्दाका एक थुनुवा आफैं प्रहरीको सम्पर्कमा आएका छन्।
झापाको कचन्कवल गाउँपालिका –६ घर भई हाल काठमाडौं, दक्षिणकाली नगरपालिका–३ फर्पिङ बस्ने १८ वर्षीय अशोक रिमाल फरार भएको लगभग दुई महिनापछि प्रहरी नियन्त्रणमा आएका हुन्।
रिमाल गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतबाट भागेका थिए । उनी सवारी अंगभङ्ग मुद्दामा अनुसन्धानका लागि हिरासतमा थिए।
आज बिहान रिमाल आफैं इलाका प्रहरी कार्यालय झिलझिलेमा आएका थिए । प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।

