विराटनगर । फागुन २१ गतेको लागि तोकिएको निर्वाचनका लागि दल दर्ता गर्ने र प्रमाण पत्र लिने आइतबार अन्तिम दिनसम्ममा निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १२७ पुगेको छ ।
निर्वाचन आयोगले नयाँ दल दर्ता गर्न कार्तिक मसान्तसम्मको समय दिएको थियो । यो अवबिधमा थप २० दल दर्ताको प्रक्रियामा छन् ।
निर्र्वाचनको मिति घोषणापछि दल दर्ताका लागि आयोगमा परेका निवेदनमध्ये हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र वीरेन्द्र बस्नेत नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीलाई आयोगले मान्यता दिएको छ । यसअघि आयोगबाट १२४ वटाले राजनीतिक दलको मान्यता पाइसकेका थिए ।
आयोगका अनुसार दल दर्ता नियमित प्रक्रिया हो। आयोगले मान्यता पाएका दललाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि १० सम्म निवेदन दिन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरिसकेको छ ।
आयोगका अनुसार मङ्सिर १० पछि फागुन २१ को निर्वाचनमा कति दल सहभागी हुन्छन् भन्ने तय हुनेछ ।
यसैबीच फागुन २१ को निर्वाचन प्रयोजनका लागि शुक्रवारसम्म २ लाख ८१ हजार नयाँ मतदाता थपिएका छन् । आयोगका अनुसार २०६४ फागुन २० गतेसम्म जन्मिएका नेपाली नागरिकले फागुन २१ को निर्वाचनमा मतदान गर्न सक्नेछन् ।
आयोगले राष्ट्रिय परिचय पत्र बनाएकाहरूले बायोमेट्रिक दिन नपर्ने र अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाएको छ । यसले मतदातालाई निर्वाचन कार्यालय पुगेर लाइनमा बस्ने झन्झटबाट मुक्त गरेको छ भने सजिलै अनलाइनबाट नाम दर्ता गर्न सहज बनाएको छ ।
आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउने समय यसअघि कार्तिक मसान्तसम्म तोकेपनि मतदाताको अत्यधिक चापका कारण पाँच दिन थपेर मङ्सिर ५ गतेसम्म समय दिएको छ ।

