विराटनगर । किसानहरु गहुँ खेतीबाट विमुख हुँदै गएको बेला मोरङको ग्रामथान गाउँपालिकाले किसानहरुलाई उन्नत जातको गहुँको बिउ उपलब्ध गराउने भएको छ । किसानहरुलाई गहुँ खेतीमा आकर्षित गर्न ग्रामथानले बिउ वितरण गर्न लागेको हो ।
किसानहरुले पेस गरेको आवेदनका आधारमा गाउँपालिकाले ६३ जना किसानहरूलाई गहुँ खेतीका लागि छनोट गरेको छ। यसका साथै, मकै खेतीका लागि भने एक जना किसान मात्र छनोटमा परेका छन्।
गाउँपालिकाको कृषि शाखाले आर्थिक वर्ष २०८२÷८३ को कृषि विकास कार्यक्रम अन्तर्गत उन्नत बीउ वितरण कार्यक्रम सञ्चालन गर्न लागेको हो। यस कार्यक्रमअन्तर्गत किसानहरूले माग गरेको आवेदनका आधारमा बीउ वितरण गरिनेछ।
गाउँपालिकाले ‘हिउँदे सिँचाइ उन्नत बीउ उत्पादन कार्यक्रम’ अन्तर्गत गहुँको बीउ वितरण गर्नेछ। गहुँको लागि छनोट भएका ६३ जना किसानहरूलाई कुल १,९४५ केजी (१ टन ९४५ केजी) उन्नत बीउ वितरण गरिनेछ। यसमा सबभन्दा बढी १२९० केजी (लगभग १ टन ३०० केजी) जति हिउँदे सिँचाइ उन्नत बीउ श्री काली भगवती बहुउद्देश्यीय कृषक समूहमार्फत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
हिउँदे मकै प्रवर्धन कार्यक्रम अन्तर्गत मकैको बीउ वितरण गर्ने योजना अगाडि सारेपनि त्यसमा किसानहरुको सहभागिता न्यून देखिएको छ । मकैका लागि भने श्री काली भगवती बहुउद्देश्यीय कृषक समूह मात्र छनोट भएको छ।
यस कार्यक्रमबाट ठूलो मात्रामा बीउ पाउने किसान र समूहहरूमा श्री काली भगवती बहुउद्देश्यीय कृषक समूहमा आवद्ध किसान तथा रन्जितकुमार चौधरी, दुर्गाप्रसाद पोखरेल, तिलकबहादुर राउत, लगायतका किसानहरू बढी लाभान्वित हुने देखिएको छ ।
गाउँपालिकाको यस पहलले स्थानीय किसानहरूलाई उन्नत खेती प्रविधि अपनाउन प्रोत्साहन मिल्ने र कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

