असोज र कात्तिकको वर्षाले किसानलाई ४१ करोड बढिको क्षति

असोज र कात्तिकको वर्षाले किसानलाई ४१ करोड बढिको क्षति

धनकुटा । असोज र कार्तिकमा परेको वर्षाका कारण धनकुटामा ४१ करोड ६८ लाख रुपैयाँ बराबरको कृषि बालीमा क्षति भएको छ ।

वर्षा, हुरीबतास, बाढी र डुबानका कारण धनकुटामा २ हजार ६ सय ९ हेक्टरमा लगाइएको धानमा क्षति भएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।

बाढी र पहिरोबाट १२ हजार ४ सय ४४ मेट्रिक टन धानमा क्षति पुगेको केन्द्रले जनाएको छ । धानबालीमा भएको क्षतिबाट ४१ करोड ५२ लाख ९९ हजार रुपैयाँ नोक्सान भएको छ ।

धनकुटाका सात स्थानीय तहमध्ये सबैभन्दा बढी क्षति पाख्रिबास, धनकुटा नगरपालिका र चौविसे गाउँपालिकाका किसानले व्यहोर्नु परेको छ । स्थानीय तहबाट संकलित तथ्यांक अनुसार ४ हजार ५३० काटिसकेको, पाकेर काट्न बाँकी ७ हजार ७९३, कलिलो ढलेको ४ र पाक्न बाँकी रहेको ८६ मेट्रिक टन हरियो धानमा क्षति पुगेको छ ।

कृषि ज्ञानकेन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाका अनुसार धानपछि सबैभन्दा बढी कोदो बालीमा क्षति पुगेको छ । धनकुटाको करिब १३ हेक्टर क्षेत्रफलमा लगाइएको ३० मेट्रिक टन कोदो बालीमा वर्षा, बाढी र पहिरोले नोक्सान भएको छ । अन्न, दलहन र तेलहन बालीमा भएको क्षतिको विवरण संकलन गरी निर्देशनालयमार्फत कोशी प्रदेश सरकारलाई पठाइएको केन्द्रले जनाएको छ ।