विराटनगर । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते विभिन्न कारागारबाट भागेका १२ जना कैदी पाँचथरबाट पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दामा दोषी प्रमाणित भएर कारागार चलान भई भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका बाबुराम आङ्देम्बेसहित ११ जना र नक्खु कारागारबाट भागेका एक जना पक्राउ परेका हुन् ।
शुक्रबार मिक्लाजुङ ४ रवि बजारबाट २६ वर्षीय आङ्दम्बेलाई पक्राउ गरी सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिषकुमार कर्णले जानकारी दिए । यसअघि कारागारबाट भागेका ११ जना पक्राउ परिसकेका थिए ।
पक्राउ परेकाहरुमा जिल्लाको कुम्मायक १ का ४५ वर्षीय पनेन्द्र तामाङ, फिदिम नगरपालिका १ का ३६ वर्षीय बिनय नेम्वाङ, तुम्वेवा ५ मौवाका ४० वर्षीय गोपाल बोहरा, फिदिम नगरपालिका ५ का ३० वर्षीय मंगलसिंह तुम्बापो, हिलीहाङ गाउँपालिका ७ का २९ वर्षीय चक्र तामाङ छन् । यस्तै मिक्लाजुङ गाउँपालिका ५का ५१ वर्षीय सन्तविर लावती, फाल्गुनन्द गाउँपालिका ३ का ५१ वर्षीय देशबहादुर तामाङ, फिदिम १ का ४० वर्षीय राजेन्द्र परियार दर्जी, हिलिहाङ ४ का २२ वर्षीय किरण पोख्रेल, फिदिम १२ का ३५ वर्षीय मिलन थाम्सुहाङ र याङवरक गाउँपालिका ३ का २३ वर्षीय उदेश नुगो छन् ।
पक्राउ परेकामध्ये एकजना फिदिम १ का चन्द्र भनिने विनय नेम्वाङ काठमाडौंस्थित नख्खु कारागारबाट भागेका हुन् । अरु ११ जना झुम्का कारागारबाट भागेका हुन् ।

