नेपाली कम्युनिष्ट पार्टी र जसपाबीच एकता वार्ता

नेपाली कम्युनिष्ट पार्टी र जसपाबीच एकता वार्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी पार्टी एकताको लागि वार्ता भएको छ। तत्कालीन नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा दुई दलबीच पार्टी एकताबारे छलफल भएको हो ।

पछिल्लो नेकपा माओवादी केन्द्रको अगुवाइमा ११ बाम दलबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि त्यस पार्टीले अन्य पार्टीलाई पनि एकताको प्रस्ताव गरिरहेको छ । एमाले पृष्ठभूमिका नेताहरुको बाहुल्यता रहेको जसपा एकताको लागि सरकारात्मक देखिएको छ ।

जसपाले एकता वार्ताको लागि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । शनिबार श्रेष्ठसहितका नेताहरू वर्ताको लागि पेरिसडाँडा पुगेका थिए।

नेकपाबाट नेताहरू वर्षमान पुन, देव गुरुङ र प्रमेश हमाल वार्तामा सहभागी थिए। नेकपासँग पार्टी एकताको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

वार्ता सकारात्मकतर्फ उन्मुख भएको नेकपाका नेता देव गुरुङले जानकारी दिए । उनले यो दुई पार्टी बिचको एकताका लागि प्रारम्भिक छलफल भएको समेत बताए । बैठकमा प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भएको उनले बताए । 

गुरुङले भने, ‘जसपासँगको एकता वार्ता सकारात्मकतर्फ उन्मुख छ । एकताका लागि यो प्रारम्भिक छलफल हो । प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा आज छलफल भयो । छलफललाई निरन्तरता दिएर निष्कर्षमा पुग्ने सहमति भएको छ । अहिले केही निर्णय भएको छैन ।’