जेनजी आन्दोलन विदेशी षड्यन्त्र भएको एमाले उपाध्यक्ष बरालको आरोप

जेनजी आन्दोलन विदेशी षड्यन्त्र भएको एमाले उपाध्यक्ष बरालको आरोप

विराटनगर । नेकपा एमालेका उपाध्यक्ष गुरुप्रसाद बरालले हालै देशमा देखिएको जेनजी आन्दोलनलाई विदेशीहरुद्वारा रचिएको षड्यन्त्र भएको आरोप लगाएका छन् । उनले यस किसिमका आन्दोलनले देशलाई अस्थिरतातर्फ धकेल्ने भन्दै यस्ता षड्यन्त्रहरुको पर्दाफास गर्न आफूहरु लागिपरेको बताए ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीले आज विराटनगरमा आयोजना गरेको मोटरसाइकल र्‍याली पछिको कोणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष बरालले जेनजी आन्दोलनप्रति आक्रामक टिप्पणी गरेका हुन् ।

विराटनगरको महेन्द्र चोकमा आयोजित सभामा बोल्दै उनले युवाहरुको भावनासँग खेलेर देशमा विखण्डन ल्याउन खोजिएको दाबी गरे । ‘यो कुनै स्वतःस्फूर्त आन्दोलन होइन, यसको पछाडि अदृश्य शक्तिहरुको हात छ,’ बरालले भने, ‘उनीहरु नेपाललाई कमजोर बनाउन चाहन्छन् र युवाहरुलाई प्रयोग गरिरहेका छन् ।’ उनले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुलाई भड्काउने काम भइरहेको बताउँदै यसप्रति सचेत रहन सबैलाई आग्रह गरे । बरालले जेनजी आन्दोलनका नाममा भइरहेका गतिविधिहरुले लोकतन्त्र र राष्ट्रियता दुवैलाई खतरामा पारेको जिकिर गरे ।

एमाले जहिले पनि युवाहरुको पक्षमा रहेको तर देश विरोधी गतिविधिलाई भने कुनै पनि हालतमा स्वीकार्न नसकिने स्पष्ट पारे । ‘हामी विकास र समृद्धिको बाटोमा अघि बढिरहेका छौं, तर केही शक्तिहरुलाई यो मन परेको छैन,’ उनले भने, ‘त्यसैले उनीहरु यस्ता आन्दोलन खडा गरेर देशलाई पछाडि धकेल्न खोजिरहेका छन् ।’ उनले यस्ता षड्यन्त्रहरुलाई चिर्दै पार्टीले देशव्यापी रुपमा भण्डाफोर अभियान चलाउने समेत उद्घोष गरे ।