विराटनगर । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले फागुन २१ मा गर्ने भनिएको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिन रचिएको हनी ट्रयाप भएको दाबी गरेका छन् । उनले यस्तो ट्रयापमा पर्न नहुने पनि बताएका छन् ।
नेकपा एमाले चितवनले आज नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बादलले भदौ २३ र २४ गते देश र जनता विरूद्व रचिएको षड्यन्त्रलाई वैधता दिन निर्वाचनको नाटक गर्न खोजिएको आरोप लगाए ।
उनले फागुन २१ को निर्वाचन अगाडि स्थापित दल र तिनका नेतालाई फसाएर मात्रै कार्की सरकारले निर्वाचन गर्ने भन्दै उनले त्यसका लागि सरकारले विभिन्न षड्यन्त्रहरू रचिरहेको जिकिर गरे ।
संविधानले बर्जित गरेको पात्रलाई विदेशीको इशारामा संविधान च्याँतेर प्रधानमन्त्री बनाइएको भन्दै उपाध्यक्ष बादलले ठूला र स्थापित दलका नेतालाई चुनावमा भाग लिन नरोके उनलाई पनि विदेशी शक्तिले हटाउने बताए । प्रतिनिधिसभा पुनस्थापना गरेर जनताको सार्वभौम संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनुपर्ने उनको भनाइ थियो ।
उनले भर्खरै गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई १० कोठे घर भन्दै व्यङ्ग्य गरे । उनले एमाले नै बलियो घर भएको जिकिर पनि गरे ।

