जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय दूतावासका प्रतिनिधिहरूले दलहरूलाई धम्क्याउने गरेको आरोप लगाएका छन्।
शनिबार प्रदेशबासीको नाममा सम्बोधन भन्दै पत्रकार सम्मेलन गरेका यादवले मधेसमा राजनीतिक अस्थिरताको कारण भारतीय दूतावासबाट आउने धम्की रहेको दावी गरे ।
मुख्यमन्त्री यादवले वीरगन्जमा रहेको भारतीय दूतावासको काउन्सलर कार्यालयबाट धम्की आउने गरेको बताए । ‘वीरगन्जमा रहेको काउन्सलर अफिसका प्रतिनिधिहरूले दलका नेताहरूसँग प्रत्यक्ष संवाद नगरी दलका नेताहरूलाई धम्क्याउने, दल फुटाई दिन्छु भन्ने जस्ता धम्की दिने गरेका छन्’ उनले भने ।
यादवले आफूलाई सुरक्षा चुनौती रहेको र सीमित कार्यक्रममा सहभागी हुन सुरक्षा निकायले भनेको बताएका छन् । ‘कार्यक्रमहरू अलिकति कम गर्नुपर्यो । सीमित कार्यक्रमहरू राख्नुपर्यो । सुरक्षा चुनौती छ भनिएको छ’ उनले भने, ‘म मात्र नभई सरकारमा सहभागी मन्त्री, प्रदेशसभा सदस्यहरूमाथि समेत सुरक्षा थ्रेट रहेको छ ।’
मधेसको सच्चा दल नेकपा एमाले रहेको दाबी गर्दै यादवले अन्य दलहरूले नाटक मञ्चन गरेको आरोप लगाए । सच्चा मधेसवादी शब्दमा नभएर व्यवहारमा हुनु आवश्यक रहेको उनको भनाइ छ ।

