विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने निष्कर्षसहित अभिभावक काउन्सिलिङ कार्यक्रम सञ्चालन गरेको छ।
विद्यालयले अपनाउँदै आएको शैक्षिक पद्धति, सिकाइ वातावरण र घरायसी व्यवहारबीचको संतुलनबारे अभिभावकलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
शुक्रबार कक्षा ७ र ८ का विद्यार्थीका अभिभावकहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यालय तथा अभिभावकको संयुक्त लगानीलाई सार्थक बनाउन बालबालिकाको समग्र विकास कत्तिको भएको छ भन्ने नै प्रमुख आधार बन्ने बताए। ३२ वर्षको शैक्षिक यात्रामा एभरेष्टका विद्यार्थीले विश्वमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरेको उल्लेख गर्दै उनले समयअनुसार शैक्षिक वातावरण र अभिभावकको व्यवहार दुवै अपडेट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले एभरेष्टले अपनाएका शिक्षण पद्धति, काउन्सिलिङ विधि, विभिन्न संस्था र क्षेत्रसँग गरिएको सहकार्य, शैक्षिक गुणस्तर सुधारका पहल तथा विद्यार्थीको सर्वाङ्गीण विकासका गतिविधिबारे विस्तृत जानकारी प्रस्तुत गरे।
त्यसैगरी, उत्प्रेरक प्रितम पौडेलले अभिभावकले घरमा सिर्जना गर्ने वातावरणले बालबालिकाको स्वभाव, अनुशासन, आत्मविश्वास र सफल व्यक्तित्व निर्माणमा कसरी प्रत्यक्ष प्रभाव पार्छ भन्ने विषयमा उदाहरणसहित मार्गदर्शन गरे। अभिभावकले सकारात्मक व्यवहार, नियमित संवाद र प्रेरणादायी माहोल सिर्जना गर्न सकेमा सिकाइ सहज र प्रभावकारी बन्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी अभिभावकहरूले काउन्सिलिङ अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया व्यक्त गरेका छन्। कार्यक्रममा एभरेष्ट कलेजका सह–प्राचार्य टी।एन। भण्डारी, विद्यालयका विभिन्न तहका इन्चार्ज तथा शिक्षक–कर्मचारीहरूको सहभागिता थियो।
स्कुलका अनुसार कक्षा ९ र १० का अभिभावकका लागि शनिबार बिहान विशेष काउन्सिलिङ कार्यक्रम आयोजना गरिने छ।

