विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका जलेको अवस्थामा अचेत भेटिएका ज्येष्ठ नागरिक मृत्यु भएको छ ।
शनिबार राति करिब ११ः ३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारी घरबाहिर आँगनमा आगोले जलेको अवस्थामा फेला परेका थिए ।
काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ ।
अधिकारीले आफ्नै शरिरमा पेट्रोल खन्याइ आगो लगाएको प्रारम्भिक अनुसन्धाधनबाट देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ । परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् ।
परिवारका अनुसार अधिकारीले केही समयदेखि डिप्रेसनको ओषधि खाइरहेका थिए ।

