झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका छन् । गएराति करिब १२ बजेको समयमा ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याइ आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए । परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उनले केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए । केही महिना अघिमात्र उनले प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गराएका थिए ।
घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ ।

