‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध मोरङमा आज एमालेको मोटरसाइकल र्‍याली

‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध मोरङमा आज एमालेको मोटरसाइकल र्‍याली

विराटनगर । पछिल्लो राजनीतिक परिवर्तनलाई ‘प्रतिगामी षड्यन्त्र’को संज्ञा दिँदै आएको नेकपा एमालेले आज देशव्यापी जनप्रदर्शन गर्ने क्रममा मोरङमा विशाल मोटरसाइकल र्‍याली र कोणसभाको तयारी गरेको छ।

एमालेले केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका जिल्लाहरूमा जनसहभागिता जुटाउन आफ्ना केन्द्रीय सदस्यहरूलाई खटाएको छ। यसै सन्दर्भमा मोरङमा पनि प्रदर्शनको तयारी गरेको हो ।

मोरङ जिल्ला कमिटीका उपाध्यक्ष सागर थापाका अनुसार, आजको प्रदर्शनमा जनसहभागिता उल्लेख्य हुनेछ। विभिन्न क्षेत्रबाट आउने मोटरसाइकल र्‍यालीहरू एकताबद्ध भई विराटनगरका प्रमुख चोकहरूमा जम्मा हुनेछन्। उर्लाबारी, पथरी, लेटाङ, बेलबारी लगायतका क्षेत्रबाट आउने र्‍याली विराटचोकबाट अध्यक्ष अजम्बर राईको नेतृत्वमा पुष्पलालचोकमा आइपुग्नेछ।

त्यसैगरी, दक्षिण भेगका चार–पाँच पालिकाबाट आउने र्‍यालीको नेतृत्व जिल्ला कमिटी सदस्य दिपक कर्णले गर्नेछन्। रतुवामाई, सुनवर्षी र रंगेलीबाट उषा झाको नेतृत्वमा धनपाल र जहदा हुँदै आउने टोली विराटनगरमा राजन भण्डारीको नेतृत्वको टोलीसँग मिसिएर पुष्पलाल चोक पुग्ने कार्यक्रम रहेको छ।

यी सबै र्‍यालीहरू पुष्पलालचोकमा एकत्रित भएपछि उपाध्यक्ष सागर थापाले सहभागीहरूलाई स्वागत गर्नेछन्। त्यसपश्चात, रोडशेष चोकबाट महेन्द्र चोकसम्म बृहत् र्‍यालीका साथ अगाडि बढ्नेछन्, जहाँ कोणसभामा परिणत हुनेछ। कोणसभालाई एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले सम्बोधन गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिए। बराल मंसिरमा हुने महाधिवेशनको तयारीका लागि मोरङमा खटिएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको विपक्षमा जनमत रहेको प्रमाणित गर्न एमालले यो प्रदर्शन गर्न लागेको हो । एमालेले निर्वाचनमा जाने वातावरण नरहेको भन्दै प्रतिनिधिसभा पुनसर््थापना गर्नुपर्ने माग अगाडि सारिरहेको छ । साथै उसले जेनजी आन्दोलनबाट सत्ता ढलेपनि अझै आफू नै लोकप्रिय शक्ति हो भन्ने दलिल पेस गर्न देशव्यापी प्रदर्शनलाई जोड दिइरहेको छ ।

एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, यस जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरू आ–आफ्नो जिम्मेवारी क्षेत्रमा खटिएका छन्। ‘पार्टीले सबै जिल्ला इन्चार्जहरूलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ। आजको सभाबाट हामी एमाले देशैभरि अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउँछौँ,’ गौतमले भने।

एमालेले पछिल्लो परिवर्तनलाई जनमतको अनादर र बाह्य शक्तिको प्रभावमा भएको षड्यन्त्रका रूपमा चित्रण गर्दै आएको छ। यस प्रदर्शनले पार्टीको आधारभूत जनसमर्थनलाई पुनः स्थापित गर्ने र सरकारमाथि दबाब सिर्जना गर्ने रणनीतिक उद्देश्य राखेको छ।