निर्वाचन आयोगमा १२२ दल दर्ता

निर्वाचन आयोगमा १२२ दल दर्ता

काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचन घोषणा भएको दिन आयोगमा १२२ दल दर्ता रहेकोमा हाल पनि सोही संख्या कायम छ । यस अवधिमा सात दल खारेज भएका छन् भने सात नयाँ दलले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् । खारेज भएकामध्ये एक दललाई सर्वोच्च अदालतको आदेशअनुसार र बाँकी ६ दललाई नेतृत्वको आग्रहमा खारेज गरिएको हो । हाल थप २८ दल दर्ताको प्रक्रियामा रहेको पनि आयोगले जनाएको छ ।

गत भदौ २७ गते प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा भएको थियो । प्रवक्ता भट्टराईले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने अन्तिम दिन आइतबार भए पनि दल दर्ताको नियमित प्रक्रिया भने चलिरहने स्पष्ट पारेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि तोकिएको अवधिभित्र दल दर्ताको प्रमाणपत्र पाएका दलहरूले निर्वाचनमा भाग लिन पाउनेछन् ।

यसैगरी, मतदाता नामावली संकलनको कार्य पनि जारी रहेको र यो आगामी मंसिर ५ गतेसम्म चल्ने जानकारी दिइएको छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार, आयोगमा उपस्थित भएर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार पुगेको छ भने राष्ट्रिय परिचयपत्रमार्फत आवेदन दिनेको संख्या दुई लाख रहेको प्रवक्ता भट्टराईले बताए ।