विराटनगर । पहिचानको मुद्दासहित राजनीतिक अभियान सञ्चालन गर्दै आएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले मंसिर १ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।
नेपाली कम्युनिष्ट पार्टीले एकताका लागि गरेको प्रस्तावमा सकारात्मक रहेको जसपाले सोही विषयमा आवश्यक निर्णय लिन बैठक बोलाएको बताइएको छ। जसपा र नेकपाका प्रतिनिधिबिच शनिबार साँझ पनि छलफल भएको थियो । उक्त छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । यद्यपिप पार्टी एकता कि चुनावमा मोर्चाबन्दी गरेर जाने भन्ने विषयमा जसपाभित्र बहस छ ।
शनिबार पेरिसडाँडामा भएको वार्तामा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जसपाको वार्ता टोलीसँगको छलफल सकारात्मक भएको बताए ।‘‘वैचारिक, सैद्धान्तिक कुरामा हिजो छलफल भयो, छलफल सकारात्मक छ,’ नेता हमालले भने । छलफललाई जारी राख्ने सहमति भएको उनले बताए ।
छलफलमा जसपाको वार्ता टोली संयोजक राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट हमालसहित देव गुरुङ र वर्षमान पुन सहभागी थिए ।
नेपाली कम्युनिस्ट पार्टीसँगको छलफलपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाका अध्यक्ष अशोक राईले मंसिर १ गते कार्यकारिणी समितिको बैठक बोलाइएको जानकारी दिए ।

