विराटनगर । नेपाल – भारत विकास सहयोग अन्तर्गत सुन्दरहरैँचा –७ स्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नयाँ शैक्षिक भवन निर्माण आयोजनाको शिलान्यास गरीएको छ ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं र नेपालको काठमाडौँस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा विद्यालय भवनको शिलान्यास गरेका छन्।
भारत सरकार र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त लगानीमा बन्न लागेको उक्त भवन निर्माणका लागि निर्माण व्यवसायी कम्पनीसँग ३ करोड २८ लाख ८९ हजार रुपैयाँको ठेक्का सम्झौता पहिले नै सम्पन्न भइसकेको नगरपालिकाको कार्यालयले जनाएको छ ।आयोजना अनुसार नयाँ शैक्षिक भवन निर्माण कार्य आगामी वर्षको बैशाख मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।