नगदे बाली संरक्षणमा ध्यान जाओस्

 सम्पादकीय

पूर्वी नेपालको झापा र मोरङका किसानहरुले लगाउने नगदे वालीमध्ये सुपारी एक हो । मोरङको मिक्लाजुङ गाउँपालिका–८, मोरङका किसान प्रेमप्रसाद बरालका लागि सुपारी खेती केवल आम्दानीको माध्यम होइन, जीवनशैली हो । ४० वर्षअघि उनका पिताले भारतको आसामबाट ल्याएको सुपारीको बिउबाट सुरु भएको यात्रा अहिले गाउँभर फैलिएको छ । कहिल्यै धोका नदिने नगदे बालीका रूपमा चिनिएको सुपारी अब भने बराललाई निराश बनाउँदैछ । दुई वर्षअघिसम्म प्रेमप्रसादको एक बिघा बगानबाट सय क्विन्टल सुपारी फल्थ्यो । त्यसले वार्षिक ८ लाख रुपैयाँसम्म आम्दानी दिइरहेको थियो । तर, समय फेरियो । पोहोर साल उत्पादन आधाभन्दा पनि कम भयो । किसानले मन बुझाए—‘अर्को साल राम्रो होला ।’ तर यो वर्ष पनि आशा चकनाचुर भयो । उत्पादनमा सुधार त भएन नै, बजारले पनि माया गरेन ।

अहिले ५० क्विन्टल जति सुपारी लिएर बसिरहेका किसानले उचित मूल्य पाएका छैनन् । पहिले प्रतिकिलो ८० रुपैयाँसम्ममा बिक्री हुने सुपारी अहिले ४० रुपैयाँमा पनि मुस्किलले बिक्ने स्थिति छ । सरकारको गलत नीतिको कारण किसानले उत्पादन गरेको सुपारीले मूलय नपाएको हो । अर्कोतिर सुपारी खेतीमा लागेको रोगबाट पनि किसानहरु पीडित बनेका छन् । बोटहरूमा झुप्पा झार्ने सुपारीका बोटहरू अहिले ओइलिएका छन्, टुप्पाबाट सुक्दैछन् । यसको मूल कारण हो—गभारो नामको किराको प्रकोप । यो समस्या आम किसानको साझा पीडा हो । कतिले बगानै बनाएका छन्, कसैले घुसुवा रूपमा सुपारी लगाएका छन् । तर, गभारोको संक्रमण सबै बगानमा फैलिएको छ । किसानले आफ्नै प्रयासमा औषधोपचार गर्न खोजे, तर महँगो उपचार र सीमित ज्ञानले काम गरेन । गाउँपालिकासहित सरकारी निकायमा समस्या सुनाउको भएपनि समस्या समाधानको ठोस पहल नभएको गुनासो किसानले गर्दै आएका छन् ।

हैरान बनेका किसान अहिले दोधारमा छन्,— सुपारीको बोट मास्ने कि आशा बाँकी राख्ने ? नगदे बालीप्रति राज्यको चासो र जिम्मेवारी कता हरायो ? कहिल्यै भरोसा नटुटेको सुपारी खेती आज भरोसायुक्त नीतिको पर्खाइमा छ । कोशी प्रदेशमा झापा, इलाम, सुनसरी, मोरङजस्ता जिल्लामा व्यवसायिक सुपारी खेती विस्तार भइरहेको छ । तर उत्पादनसँगै बजार, मूल्य, र रोग नियन्त्रणको संरचना विस्तार भएको छैन । किसान आफैँ लागिपरेर मात्र यो संकट समाधान हुँदैन । सरकार र प्राविधिक पक्ष एकै ठाउँमा उभिएर समाधान खोज्न ढिलो भइसकेको छ । गभारोसहितका रोगकिरा नियन्त्रणका लागि वैज्ञानिक औषधोपचार, तालिम र सुलभ औषधि वितरण आवश्यक छ । साथै, सुपारीको स्थिर बजार र न्यूनतम समर्थन मूल्य तोक्ने नीति आवश्यक छ, जसले किसानको मनोबल जोगाउन सकोस् ।

किसान खेती फेर्ने निर्णयमा पुग्नु भनेको केवल व्यक्तिगत विकल्प होइन—देशको कृषि सम्भावनामा लागेको प्रश्न हो । किसानले सुपारीको उचित मूल्य नपाउनेको पछाडि सुपारी तस्करको योजनामा सरकारले सुपारी आयात गर्न दिएको अनुमति पनि प्रमुख कारण हो । तेस्रो मुलुकबाट सुपारी आयात गर्ने र तस्करी गरेर नेपालको उत्पादन भन्दै भारत पठाउनेहरुको योजनामा सरकार सहयोगी बनेको छ । जसले गर्दा यहाँका किसानले उचित मूल्य पाउन सकेका छैनन् । अतः अब किसानलाई दोष दिने समय होइन, नीतिलाई सुधार्ने समय हो । गभारोले बगान सुकाउनु सरकारी नीतिमा परिवर्तनको खाँचो छ । त्यसो भयो भने मात्र सुपारी किसानले राहतको महशुस गर्नेछन् ।

मङ्गलबार, ०२ बैशाख, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर