विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना सञ्चालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतगणना जारी रहेको छ।
मतगणनाको सुरुवाती चरणदेखि नै अध्यक्षका उम्मेदवार लालमणि भट्टराईले अग्रता बनाइरहेका छन्।पछिल्लो मतपरिणाम अनुसार ६६६ मत गणना हुँदा भट्टराईले ३०५ मत प्राप्त गर्दै ७२ मतको स्पष्ट अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी राम बहादुर घिमिरेले २३३ मत प्राप्त गरेका छन् भने अर्को उम्मेदवार दुर्गा चापागाईँले १०० मत प्राप्त गरेका छन्।शनिबार राति साढे ११ बजेदेखि सुरु भएको मतगणनामा हालसम्म विराटनगर महानगरपालिका–१ र वडा नम्बर ३ को मत गणना भइसकेको छ।
मानगढ आयोजना अन्तर्गत कुल ५ हजार ९८८ उपभोक्ता मतदाता रहेकोमा ३ हजार ९६४ मत अर्थात् ६६ प्रतिशत मत खसेको थियो।उपाध्यक्षतर्फ चापागाईँ प्यानलका भोला घिमिरे (खुला उपाध्यक्ष) र सावित्रा पोखरेल (महिला उपाध्यक्ष) अग्र स्थानमा छन्। सचिव पदमा भने भट्टराई प्यानलका प्रदीप कुमार नेपालले अग्रता बनाएका छन्। कोषाध्यक्षतर्फ चापागाईँ प्यानलका राजेन्द्र कुमार पोखरेल अगाडि रहेका छन्।हाल दुईवटा केन्द्रमार्फत मतगणना भइरहेकाले प्रक्रिया सुस्त भएको भन्दै उम्मेदवारहरूबीच गणना स्थल थप्ने विषयमा छलफल भइरहेको छ। निर्वाचन तथा मतगणना शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको निर्वाचन समितिले जनाएको छ ।