विराटनगर । विराटनगरमा तीन दिनसम्म सञ्चालन भएको ढाका महोत्सवमा २५ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको छ ।
ढाकाका कपडा तथा ढाकाबाट बनेका विभिन्न वस्तुहरुको बिक्रीउत्साहजनक देखिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बताए । महोत्सवमा ढाकाका वस्तु उत्पादन गर्ने ३० स्टलहरुले उत्पादन प्रदर्शनीमा राखेका थिए । महासंघको आयोजना भएको महोत्सव शनिबार सकिएको छ ।
ढाका महोत्सवमा ढाका उत्पादनलाई कसरी व्यवसायिक बनाउन सकिन्छ र त्यसमा महिलाहरु आत्मनिर्भर बनाउने विषयमा बहससमेत गरिएको थियो । महोत्सवमा सहभागीहरुले आत्मनिर्भर महिलाबाट मात्र मुलुक अगाडि बढ्न सक्ने विचार व्यक्त गरे ।
ढाका महोत्सवको तेस्रो र अन्तिम दिन नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले आयोजना गरेको आर्थिक सबलीकरणमा महिला उद्यमशीलता सम्भावना र चुनौती विषयक बहस तथा छलफल कार्यक्रममा सहभागी सरकारी महिला अधिकारी र महिला उद्यमीहरूले महिला कमाउने भएको खण्डमा मात्र देश अगाडि बढ्ने धारणा राखेका हुन् ।
बहस तथा छलफल कार्यक्रममा महिलालाई कमाउने बनाउन राज्यको जिम्मेवारी रहेकोले महिलालाई प्रविधि मैत्री सहित दक्ष नागरिक बनाउनका लागि राज्यको लगानी आवश्यक रहेकोमा जोड दिए । कोशी प्रदेशमा ढाका उद्योग सञ्चालन गरिरहेकी निरु ढाका उद्योग उर्लाबारी मोरङका सञ्चालिका निर्मला चौहानले ढाका उद्योगका लागि चाहिने कच्चा पदार्थ धागोमा तेस्रो कर नीति लागू भएका कारण अन्य कपडाको तुलनामा ढाका कपडा महँगो रहेको बताइन् । ढाका कपडा महँगो हुनुमा राज्यको कर नीति जबाफदेही रहेको चौहानले बताइन् ।
उनले सरकारले ढाका उद्योगलाई दिइरहेको अनुदान रकम कटौती गरेकोले उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको बताइन् । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका महिला अधिकारी दुर्गा बरालले प्रदेश र स्थानीय तहमा ढाका कपडालाई सरकारी पोसाक बनाउन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत व्यवस्था गर्न लागिएको जानकारी दिइन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ढाका महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशमा ढाकाको कपडालाई राष्ट्रिय पोसाक बनाउने आश्वासन दिएका थिए ।