
गोकुल पराजुली
कलेजहरुलाई युवा राजनीतिको नर्सरीको रुपमा लिइने गरिएको छ । त्यो नर्सरीमा एउटा लोभलाग्दो जाग्दो जिउँदो फूल फुल्न सक्छ । नागरिकले कुनै न कुनै विन्दुबाट आफ्नो राजनीतिक करियर आरम्भ गर्नुपर्ने हुन्छ । कलेजहरु पनि त्यस्तै एउटा महत्वपूर्ण स्थान हुन् जहाँबाट विद्यार्थीले समाज र देशको नेतृत्व गर्ने एउटा लक्ष्य लिनसक्छ । कलेजहरु राजनीतिक क्षेत्रमा जनशक्ति आपूर्ति गर्ने एउटा महत्वपूर्ण स्रोत पनि हुन् । राजनीति वृहद क्षेत्र हो । अनेकौं क्षेत्रहरुबाट राजनीतिमा मानिसहरुको प्रवेश हुन्छ । त्यसमध्ये युवा वयका शिक्षित र उर्जाशील जनशक्तिको आपूर्ति हुने एउटा महत्वपूर्ण क्षेत्र क्याम्पसहरु नै हुन् ।
शिक्षित वर्गको प्रवेश नहुँदा देशको राजनीतिले ठिक बाटो लिन सकेन भन्ने जनगुनासो हामीले यदाकदा सुन्ने गरेका छौं । बौद्धिक भनिएका वर्गहरुबाट पनि त्यस्तो भनाइहरु हामीहरु सुन्छौं । सँगसँगै अर्को कुरा पनि भनिरहेका हुन्छौं कि कलेजहरुमा राजनीतिक प्रभाव देखिनु हुँदैन ।
कलेजमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राजनीतिक प्रभाव रहनु हुँदैन पनि भनिने गरिएको सुनिन्छ । कलेजमा हुने निर्वाचनमा स्वतन्त्ररुपमा प्रतिनिधि छान्ने वातावरण बनाइनुपर्छ भनिरहेको हामीले संचार माध्यमहरुमा सुन्छौं । कुरा सुन्दा ठिकै लाग्छ तर, बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था भएको ठाउँमा हुने कुनै पनि निर्वाचन आफैंमा राजनीति हो । त्यहाँ कुनै दलको विचार अभिव्यक्त हुनु वा नहुनुले खास फरक पार्दैन । प्रतिस्पर्धामा उत्रिनेहरुले केहि न केहि प्रतिबद्धाता गरेकै हुन्छन्, आफ्ना योजना र विचारहरु अभिव्यक्त गरेकै हुन्छन् । त्यसका लागि संगठन गरेको हुन्छ, समूह बनाएको हुन्छ भने त्यहाँ स्वतः राजनीति प्रवेश हुन्छ । देशको नेतृत्व गरिरहेका वा गर्ने पर्खाइमा रहेका दललाई समर्थन गर्ने विद्यार्थीहरु हुनुभएन बाँकीले गर्न पाइन्छ भन्ने हो भने एउटा कुरा । होइन भने राजनीति त हुन्छ नै । स्वतन्त्र भनेर समूह बनाउने, संगठित गर्ने, विचार र दृष्टिकोणहरु प्रस्तुत गरेर विद्यार्थीहरुलाई आफूतर्फ आकर्षित गर्ने हो भने त्यहाँ स्वतः राजनीति प्रवेश भइहाल्छ कसैले जबरजस्ती प्रवेश गराएको अर्थमा यसलाई बुझ्न हुँदैन । शाब्दिक रुपमा भन्ने हो भने विशेष उद्देश्य प्राप्तिका लागि समूह बनाएर कुनै निश्चित क्षेत्र वा देशकै लागि गरिने प्रयत्न राजनीति हो ।
आज देशको जेठो विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । यो निर्वाचन युवा विद्यार्थीहरुका लागि आफ्नो नेतृत्व गर्ने योग्य, सक्षम र इमान्दार नेतृत्व छान्ने र आम विद्यार्थीहरुको साझा भावनालाई सम्बोधन गर्ने क्षमता प्रस्तुत गर्दै नेतृत्व गर्ने एउटा महत्वपूर्ण सिकाइ अभ्यास हुनुपर्दछ । यो निर्वाचनलाई केबल आफ्नो संगठनको जितहारलाई हेर्ने भन्दा पनि समस्या पहिचान गर्ने, त्यसको विश्लेषण गर्ने, निश्कर्षमा पुग्ने र समाधानको मार्ग पहिल्याउँने क्षमता विकास गर्दै विद्यार्थीहरुको विश्वास आर्जन गरी उनीहरुको भावनाको नेतृत्व गर्ने सामथ्र्य निर्माणको अर्थमा लिइनुपर्दछ ।
विद्यार्थी संगठनहरुका आ–आफ्ना इतिहासहरु छन् । तीतामिठा बिगतहरु पनि छन् । उनीहरुले पटक पटक नेतृत्व गरेको अनुभवहरु पनि होलान् । त्यसबाट अब नेतृत्वका लागि अगाडि सरेकाहरुले कति सिके, कति सच्चिएर नयाँ बन्ने प्रयत्न गरे भन्ने कुराले अहिलेको अवस्थामा स्ववियु निर्वाचनको महत्व राख्दछ ।हुन त विगत केही वर्षयता स्वतन्त्र विद्यार्थी युनियनको सामाजिक भूमिका खासै प्रभावकारी देखिएको छैन । उनीहरुले विश्वविद्यालयका कलेजहरुमा गरेको सुधारका कामहरुका बारेमा खासै चर्चा पाएको पनि पाइदैन । विश्वविद्यालयहरु अस्तव्यस्त हुँदा, त्यहाँ शिक्षक नियुक्तिमा हुने अनियमितता नियन्त्रण गर्नेदेखि शिक्षा क्षेत्रमा गर्नुपर्ने आमूल परिवतर्नको मुद्दामा स्ववियुहरुले पछिल्ला दिनमा खासै प्रभावकारी काम गरेको समाजले देखेको छैन । तर त्यो काम गर्ने आधिकारिक संरचना त्यहि नै भएकोले अब आउने नेतृत्वले गर्नसक्छ र गर्नुपर्छ भन्ने मान्यता र विश्वास राख्नै पर्छ ।
विराटनगरका तीनवटा क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनगइरहेको छ । देशका धेरै क्याम्पसहरुमा निर्वाचन बिथोलिएको छ । तालाबन्दी र अनेक लफडाले निर्वाचन अनिश्चित भइरहेको बेलामा विराटनगरको तीनवटै कलेजमा निर्वाचन हुने वातावरण बन्नु सकारात्मक हो । यद्यपि यहाँ आगजनी, तोडफोड र तालाबन्दीका घटना नभएका होइनन् । त्यसका बाबजुद पनि निर्वाचन हुने वातावरण बनेको छ । लोकतान्त्रिक विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको आन्तरिक विवादलाई क्याम्पसमा प्रवेश गराएर यस पटक झण्डै झण्डै महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा चुनाव हुन नदिने अधिकतम प्रयत्न गरियो । स्नातकोत्तर क्याम्पसमा पनि स्ववियु निर्वाचन भाँड्ने गरी तालाबन्दी गर्ने काम भयो । त्यसमा अनेरास्ववियु समर्थित विद्यार्थीहरु संलग्न देखिए । यसपटक अखिल क्रान्तिकारी भने यस्ता विवादमा संलग्न देखिएन । अखिल क्रान्तिकारीले कलेजमा निर्वाचनको वातावरण बिगार्न हुँदैन भन्दै धैर्यतापूर्वक भूमिका निर्वाह ग¥यो । जसले स्वतन्त्र र सहजरुपमा निर्वाचन गर्ने वातावरण बनाउन उसले योगदान गरेको ग¥यो । तुलनात्मकरुपमा अखिल क्रान्तिकारीपछि अनेरास्ववियु पनि यस पटक शान्त नै देखियो । तर नेविसंघका विद्यार्थीहरुले भने विगतको खराब इतिहासबाट पाठ सिक्ने प्रयत्न गरेको देखिएन । कलेजलाई शिक्षालय नभएर खुँडा, खुकुरी र बञ्चरो बोकेर गुण्डागर्दी गर्ने खराब राजनीतिको स्थलकै रुपमा परिचय गराउन खोज्यो । वास्तवमा देश बदलियो, राजनीतिक व्यवस्था बदलियो तर मोरङ क्याम्पसमा नेविसंघको खराब विगतमा यस पटक पनि परिवर्तन देखिएन । यो बाहिरबाट समाजको आँखाले देखेको दृश्य हो बाँकी मूल्यांकन त्यहिँभित्रका विद्यार्थीहरुले मतदानमार्फत गर्ने नै छन् ।