विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा आगलागीका घटना भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार भोजपुर, तेह्रथुम, खोटाङ, धनकुटा, संखुवासभा, उदयपुर र मोरङ जिल्लाका विभिन्न क्षेत्रमा सोमबार आगलागी भएको छ ।
भोजपुरमा छुट्टाछुट्टै तीन स्थानमा आगलागी हुँदा दर्जनौं घर जलेका छन् । भोजपुर नगरपालिका(१२ स्थित इनामे सामुदायिक वनबाट लागेको आगो बस्तीमा फैलिँदा १२ वटा घर जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बिहान साढे ९ बजेदेखि शुरू भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अरविन्द कुमार साहका अनुसार आगलागीबाट १० जनाको घर र पाली जलेर नष्ट भएका छन् ।
रामप्रसादराई गाउँपालिका–४ केरावारीमा पाँच घर जलेर नष्ट भएको र अरुण गाउँपालिका–४ सुधिलाबारीमा तीन घर जलेर नष्ट भएको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ४० जनाको टोली परिचालित रहेको प्रहरीले जनाएको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा एक गोठमा आगो लाग्दा एक गाई र एक बाछा पनि जलेर मरेका छन् । फेदाप गाउँपालिका–५ इसिबु, छथर गाउँपालिका–३ र आठराई गाउँपालिका–६ का सामुदायिक वनमा आगलागी भएको छ । हालसम्म ५ लाख ३५ हजार रूपैयाँको क्षति भएको अनुमान गरिएको छ।
यस्तै, खोटाङमा तीन वटा सामुदायिक वनमा आगलागी भएको छ । प्रहरीका अनुसार धनकुटाको चौबिसे गाउँपालिका–३ सोगुममा एक घर जलेर नष्ट भएको छ।
संखुवासभाको खाँदबारी नगरपालिका–३ स्थित भिरकुना सामुदायिक वनमा आगलागीबाट कृषि टहरा र कागतीका बिरुवा गरी अन्दाजी ५ हजार रूपैयाँको क्षति भएको छ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–८ खोल्सेमा ६ जनाको खरबारीमा आगलागी भइरहेको प्रहरीले जनाएको छ ।
मोरङको विराटनगर महानगरपालिका–१ परोपकारघाटमा आगलागीबाट ४ वटा घर जलेर नष्ट भएका छन । जसबाट १२ लाख रूपैयाँको क्षति भएको अनुमान गरिएको छ ।
प्रहरीले सबै स्थानमा आगो नियन्त्रणका लागि प्रयास गरिरहेको र क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ । चैत शुरू भएसँगै आगलागीका घटना हुन थालेका छन् । हावा चलेर सुख्खा मौसम भएका कारण आगो नियन्त्रण गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।
