विराटनगर । कोशी प्रदेश सरकारको लाखौं अनुदानमा निर्माण गरिएको कोल्डस्टोरमा देखाउनकै लागि मात्र आलु किनेर राखेको पाइएको छ । अनुदान लिएर दुरुपयोग गरेको स्थलगत अनुगमनका क्रममा देखिएको हो ।
तत्कालीन कृषि मन्त्री भक्तिप्रसाद सिटौलाले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने झापाको कन्काई नगरपालिका– १ मा रहेको प्रजापति कृषि सहकारी संस्था लिमिटेडलाई ३५ लाख ६७ हजार अनुदान दिएका थिए । प्रदेश सरकारले दिएको अनुदान सम्बन्धमा कोशी प्रदेशको सामाजिक विकास समितिले स्थलगत अनुगमन गर्दा ५ बोरा आलु मात्रै भेटिएको समितिका सदस्य विद्या चाम्लिङले बताइन् ।
‘हामी अनुगमनमा जाँदा जम्मा ५ बोरा जति आलु थियो,’ उनले भनिन्न, ‘त्यो पनि अनुगमनमा आउने भनेर सूचना पाएपछि किनिएको रहेछ । किसानको होइन ।’ चाम्लिङका अनुसार अनुगमन हुनेबारे सूचना लिक भएपछि आलु किनेर राखेको पाइएको छ । अनुगमनमा जाँदा सहकारीका पदाधिकारी भेट्नसमेत समस्या भएको समितिले जनाएको छ ।
अनुगमनमा गएका झापा क्षेत्र नम्बर २(२)का प्रदेश सभा सदस्य तथा सामाजिक विकास समितिका सदस्य तिलचन (चिन्तन) पाठकले भने घुमाउरो जवाफ दिएका छन् । उनले उक्त सहकारीले निर्माण गरेको कोल्ड स्टोर अलिक एकान्तमा भएकाले नचलेको जवाफ दिए । उनले कोल्ड स्टोरका लागि बिजुलीको बिलमा समेत अनुदान दिने आश्वासन दिएका थिए ।
समितिकी सदस्य सपना दर्जी भने सहकारीको अनुगमन गर्दा छुटेकी थिइन् । अनुगमन सकिएपछि मात्रै अनुगमन टोलीसँग दमकमा भेट भएको उनले बताइन् ।
सहकारीकी अध्यक्ष कमला अधिकारीले सिजन सकिएकाले थोरै आलु देखिएको दावी गरेकी छन् । ‘त्यतिबेला हामीले किसानलाई दिएका थियौं,’ उनले भनिन, ‘हामीले खाने र बिउ आलु राख्छौं ।’
सामाजिक विकास समितिले कोल्ड स्टोर सञ्चालन तथा व्यवस्थापनमा कठिनाइ देखिएको, वित्तीय हिसाबले कमजोर देखिएको, उत्पादन क्षेत्रसमेत कमजोर देखिएको जनाएको छ । यद्यपी प्रतिवेदनमा अनुगमनमा देखिएका सबै विषय नराख्ने गरेको पाइएइको दर्जीले बताइन् ।
प्रजापति कृषि सहकारीको अध्यक्ष कमला अधिकारी भएपनि सहकारीका बारेमा उनलाई कुनै जानकारी नभएको पाइएको छ । अनुदानको विषयमा कमलासँग टेलिफोन संवाद गर्दा उनका श्रीमान् लक्ष्मी अधिकारीले फोन लिएर सहकारीका बारेमा थप जानकारी दिएका थिए ।
‘फागुनमा आलु निस्कन्छ, चैत्रमा राख्छौं,’ कमलाका श्रीमान् लक्ष्मीले भने, ‘आलु राख्दै गरेको बेलामा तिलचन (चिन्तन) पाठक मान्यहरू आउनुभएको थियो । अहिले पनि बिउको आलु मात्रै छ । खाने आलु किसानले लगिसकेका छन् ।’ उनले यो वर्ष ५ सय बोरा आलु कोल्ड स्टोरमा राखेको दाबी गरे ।
प्रतिबोरा ३५० रुपैयाँले आलु राख्ने गरेकोले बिजुलीको बिल तिर्न पनि नपुग्ने उनले बताए । ‘बिजुलीको बिल तिरिदिन्छौं भनेर अनुगमनमा आउँदा चिन्तन सरले भन्नुभएको थियो । मैले प्रस्ताव पनि लगेर हालेको थिएँ, तर पैसा चाहिँ आएन,’ उनले भने । लक्ष्मीले अरू कोल्ड स्टोरभन्दा आफूहरुको कोल्ड स्टोर चलेको दाबी गरेका छन् ।
उनी कन्काई नगरपालिकाका कर्मचारी समेत हुन् । सहकारीबारे सोध्नेबित्तिकै कमलाले श्रीमानलाई फोन दिन्छिन् । मन्त्रालयले आर्थिक वर्ष २०७९–०८० मा मन्त्रालय र मातहतका कार्यलयहरूबाट कृषि क्षेत्रको उत्पादन, प्रबद्र्धन, उत्पादकत्व वृद्धि, विविधीकरण, प्रशोधन, व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणका लागि ८२ करोड २६ लाख ७३ हजार रुपैयाँ रकम अनुदान बाँडेको थियो ।
मन्त्रालयले गत आर्थिक वर्ष २०८०–०८१ मा कृषि क्षेत्रमा मात्रै ४५ करोड ७७ लाख ३७ हजार रुपैयाँ अनुदान वितरण गरेको छ । अनुदान दुरुपयोग गरेको आरोप लागेपछि चालू आर्थिक वर्षदेखि भने मन्त्रालयले ब्याज अनुदानमा जोड दिएको छ । त्यसको लागि ४५ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ ।