विराटनगर । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आउँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कोहि पनि ट्राफिक प्रहरी थिएनन् । कार्यालयका सबै ट्राफिक प्रहरी कार्यालय नै खाली गरेर प्रधानमन्त्रीको सवारी आवागमन मिलाउन खटिएका थिए ।
कार्यालयमा कोहि पनि नभेटेपछि सेवाग्राहीले आक्रोश पोखेका थिए । सेवा लिन आएका सेवाग्राहीले कार्यालयमा चिट काट्नेसमेत ट्राफिक प्रहरी नदेखेपछि चासो राखेका थिए । त्यसबेला प्रधानमन्त्री आएका कारण सवारी आवागमन व्यवस्थापन गर्न गएको खुलेको थियो ।
प्रधानमन्त्री ओली धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुन बिहान विराटनगर हुँदै धरान गएका थिए । ओली विराटनगर विमानस्थलबाट धरानजानु अगाडि विराटनगर–२ स्थित होटल ह्यारिसनमा पुगेका थिए । अचानक सेड्युल नै नभएको ह्यारिसन पुग्ने कार्यक्रम तय भएपछि अत्तालिएको सुरक्षा संयन्त्रले एकै पटक कार्यालय छोडेर सडकमा निस्कनु परेको थियो ।
विराटनगर विमानस्थलदेखि होटल ह्यारिसनसम्म प्रधानमन्त्री जाने भएपछि अकस्मात सवारी व्यवस्थापनमा ट्राफिक जनशक्ति परिचालित भएको थियो । विराटनगर ८ बलुवाहीका सिटी चालक रामलाल महतो सोमबार १० बजे ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । कार्यालयमा सञ्चारका एक कर्मचारी बाहेक कोही पनि भेटेनन् ।
ट्राफिक प्रहरीले आईतबार नै उनको चिट काटेको थियो । उनलाई ११ बजे सम्म सिटी रिक्साको किस्ता तिर्नुपर्ने बाध्ययता थियो । उनले झन्डै २ घन्टाभन्दा लामो समय पर्खिएपछि मात्र ट्राफिकको टोली कार्यालयमा पुगेको थियो ।
एयरपोर्टदेखि दुहबीको बुढी पुलसम्मको सवारी व्यवस्थापनका लागि ट्राफिक खटिनु पर्दा समस्या भएको कार्यालयले जनाएको छ । आपतकालिन अवस्था जस्तो प्रधानमन्त्रीका पछि दौडनु परेकोले समस्या भएको एक ट्राफिक प्रहरीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले भने आफुहरुको बाध्यता रहेको जवाफ दिए । ‘प्रधानमन्त्रीज्यू विराटनगरमा होल्ड हुने कुनै सूचना बिहानसम्म थिएन, अचानक भएपछि हामीले रुट व्यवस्थापनमा खटिनु पर्ने भएको हो’ उनले भने– ‘दायित्व पूरा गर्नुपर्ने भएर मात्रै कार्यालयमा सेवा प्रवाह गर्न नसकेका हौं, सेवाग्राहीसँग हामी क्षमाप्रार्थी छौं ।’
अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गमा ७० जनाको संख्याको जनशक्ति रहेको छ । जसमध्ये विराटनगरमा ३० देखि ३५ जना खटिने गरेका छन् ।
प्रधानमन्त्री आउँदा विमानस्थलमा पनि आम सर्वसाधण तथा यात्रुहरुले नराम्रो सास्ती भोग्नुपरेको थियो । विराटनगरबाट काठमाडौं जाने यात्रुहरुलाई आधा किलोमिटर टाढा नै आ–आफ्ना सवारी साधनबाट उत्रिएर आफैं सामान बोकेर हिँड्न लगाइएको थियो भने विमानस्थल वरपर सर्वसाधरलाई हिँडडुल गर्न र सवारी साधान सञ्चालनमा पनि कडाई गरिएको थियो ।
विमानस्थाल जानको लागि महिला, वृद्धवृद्धा तथा सानाबालबालिकालाई पनि समस्या भएको थियो । काखमा बच्चा र झोला च्यापेर विमानस्थल जाँदै गरेकी महिलाले सरकारको रवैयाविरुद्ध आक्रोश पोखेकी थिइन् ।