लीलाबल्लभ घिमिरे
धेरै दिनदेखि एउटा विषयमा लेखौं या नलेखौं दोधारमा थिएँ । जब म कुनै पनि सामाजिक संघ संस्थाका कार्यक्रममा सहभागी हुन जान्छु त्यहाँ जहिले पनि मलाई एउटा कुराले बढो नराम्रोसँग पिरोल्ने गर्छ । लाखौं रुपौंयाँ खर्च गरेर आयोजना गरिने यस्ता कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथि बोलाउने होडबाजी नै चल्छ । कार्यक्रमको प्रभावकारिता त्यहाँ बोलाइने प्रमुख अतिथिले निर्धारण गर्छ न कि कार्यक्रमको उद्देश्य र औचित्यले भन्ने मान्यता छ । अझ विराटनगरमा त कुनै एउटा संस्थाले सामान्य आफ्नो पदस्थापन कार्यक्रम गर्न प¥यो भने पनि राष्ट्रपति नै ल्याउन सफल हुन्छन् । यहाँका अधिकांश संस्थाको रोजाईमा राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्री पर्ने गर्छन् । यदि उनीहरूको समय मिलेन भने मुख्यमन्त्रीले काम चलाइन्छ ।
कार्यक्रममा पहिलो खल्लो पनि त्यहाँ जडान गरेको माइकबाट सुरु हुन्छ । यदि माइक राम्रैसँग बज्यो भने अब सुरु हुन्छ प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई बोलाउन । आयोजकले सबैलाई खुसी बनाउन आउन सबैको नाम लिएर मञ्चतिर बोलाउन थाल्छन् । कहीं कहीं त यतिसम्म हुन्छ कार्यक्रममा सहभागीभन्दा अतिथि धेरै ।
मैले यहाँ प्रमुख रूपमा उठाउन खोजेको कुरा भनेको उद्घोषकले कार्यक्रममा अतिथिलाई बोलाउन मर्यादाक्रमलाई धज्जी उडाउने गर्छन् । हुन त उनले आयोजकले जे लेखेर दिन्छन्, त्यहि पढेका होलान् । तर, मर्यादाक्रम सुन्नलायक हुन्छ । केही दिन अघि एउटा कार्यक्रम भयो । कार्यक्रमका प्रमुख अतिथि थिए, कोशी प्रदेशका मुख्यमन्त्री । कार्यक्रममा विशिष्ट अतिथि थिइन् विराटनगर महानगरपालिकाकी उपप्रमुख । मञ्चमा मोरङका प्रमुख जिल्ला अधिकारीदेखि अन्य सामान्य व्यक्तिलाई पनि बोलाइयो । त्यहि कार्यक्रममा प्रदेशका माननीय सांसदलाई भने दर्शकदीर्घाको अघिल्लो पंक्तिमा बस्नका लागि उद्घोषकले बोलाइरहँदा मेरो शीर निहुरियो । यस्तै अर्काे कार्यक्रममा पनि प्रदेशका माननीयहरुको हुर्मत लिने काम भयो । मञ्चमा समेत न बोलाई उनीहरूलाई दर्शकदीर्घामा नै राखेर पगरी गुथाउने काम भयो । प्रदेशका प्रमुख सचिव, सचिवहरू पालिकाका अध्यक्षहरूको कुरै नगरौँ । किन यस्तो हुन्छ ? कार्यक्रमका आयोजकलाई मर्यादाक्रमको बारेमा थाहा नभएको हो या जानीजानी जे गर्दा पनि हुन्छ भन्ने सोच हो ?
मलाई के लाग्छ भने आयोजकभन्दा पनि कार्यक्रममा जाने प्रमुख अतिथिबाहेकले कहाँ जाने र कहाँ नजाने भन्ने छुट्याउन नसक्दा पदको नै हुर्मत लिने काम भएको छ । एउटा कार्यक्रममा मुख्यमन्त्रीसहित चार जनासम्म मन्त्री, सभामुख, उपसभामुख, आधा दर्जन सांसद पुगेपछि कसको के लाग्छ ? लाग्छ, आयोजकले चुल्है निम्तो दिएको रैछ । तर, माननीय पद तपाईलाई हेला गरे जति चाँही पक्कै हैन है माननीयज्यू ! यदि कुनै कार्यक्रममा तपाईँलाई निम्ता आउँछ भने त्यहाँ को–को जाँदैछन् ? आफ्नो भूमिका के हुन्छ ? मञ्चमा बस्नु पर्ने हो कि दर्शकदीर्घाा र अनुहार मात्र देखाउनु पर्ने हो कि केही कुरा पनि राख्न पाइन्छ ? भन्ने सामान्य जानकारीसमेत नराखी सत्यनारायण पूजामा प्रसाद खान गए जसरी त जानु भएन नि मन्त्री र माननीयज्यूहरू ! अनि प्रमुख अतिथि भएर बस्ने मुख्यमन्त्रीज्युले पनि प्रदेशको माननीयलाई दर्शकदीर्घामा अनि अरू आउरे भाउरेलाई मञ्चमा राख्दा टुलुटुलु हेरिरहनु भएन । आयोजकलाई भन्न सक्नुप¥यो । मुख्यमन्त्रीज्यू त्यो प्रदेश सभाका माननीयलाई गरेको अपमान तपाईँको पनि अपमान हो है ।
अब मेरो आग्रह माननीयज्यूहरूलाई के मात्र हो भने यदि तपाईँहरूलाई सार्वजनिक समारोहमा यसरी अपमान गरिन्छ भने त्यहाँबाट सामूहिक रूपले उठेर जानुहोस् । भरसक उपस्थिति हुनैका लागि भूमिकाविनाका कार्यक्रममा नजाँदै राम्रो । यतिबेला प्रदेश संरचनामा धेरैतिरबाट प्रहार भईरहेको छ । तपाईहरुले पनि यो पदको मर्यादा राख्न सक्नुभएन भने प्रदेश आवश्यक छ कि छैन भन्ने बहस अझै बढ्नेछ । नेपाल सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रमलाई सुचीकृत गरी लामो नै लिस्ट निकालेको छ । मेरो आग्रह छ, माननीयज्यूहरू एक पटक त्यसलाई अध्ययन गर्नु होस् । अनि आफ्नो पदको हैसियत थाहा हुन्छ ।