मिथिलामा मधुश्रावणी पर्व सुरु

विराटनगर । कला र संस्कृतिको धनी मानिने मिथिलाञ्चलमा बिहीबारदेखि मधुश्रावणी पर्व शुरु भएको छ । नवविवाहित बधु (कनिया)ले मधुश्रावनी पर्व मनाउने गरेका छन् ।

श्रावण कृष्ण पञ्चमीको दिनदेखि शुरु हुने मधुश्रावणी पर्व मिथिलामा नवविवाहिता बधुले १५ दिनसम्म मान्ने परम्परा रहि आएको छ । जुन सबभन्दा ठूलो व्रतको रुपमा मानिन्छ ।

यो पर्व विशेष गरी ब्राह्मण, कायस्थ र सोनार जातिका नवविवाहिता महिलाले मनाउने गरेका छन् । पर्वमा महिलाहरुले एक दिन पहिले नै टिपेर ल्याएको फूलले विषहाराको (नागनागिन) प्रतिमा स्थापना गरी पूजा अर्चना गर्ने गर्छन् । पर्व मनाउने महिलाले समापन दिनसम्म चोखो भई बस्नुपर्ने हुन्छ ।

पर्वको अबधिभर नुन, लसुन र प्याज खान नपाइने र अरु नियम पनि पालना गर्नुपर्ने भएकाले महिलाका लागि यो पर्व कठोर मानिन्छ । यो पर्वमा पर्व सुरु हुनुभन्दा एक दिन पहिलै पूजा सामग्री, अन्न, वस्त्रलगायतका सामग्री श्रीमानको घरबाट कोसेली (भार) को रुपमा पठाउँछन् ।
यो पर्व महिलाहरुले आफ्नो माईतीमा मनाउने प्रचलन रहेपनि केहि वर्ष यता श्रीमानको घरमा पनि मनाउने गरेको पाइन्छ । पूजाको बेला महिलाले नाग नागिन, शिव पार्वतीका विभिन्न समयमा भएको लीलाहरुको वर्णनको कथाहरु सुन्ने गर्छन् । यसो गर्दा श्रीमानको आयु बढ्ने सर्पदंशबाट मुक्ति हुने जनविश्वास रहेको छ ।

साउनमा सर्पको बिगबिगी बढ्ने भएकाले सर्प (नागनागिन) को पूजा गर्नाले श्रीमानमाथि कुनै प्रकारको संकट नआउने विश्वासका कारण नवविवाहित महिलाहरुले पूजा गर्ने गरेको शास्त्रहरुमा उल्लेख गरिएको छ । त्यस्तै, यस पर्वको अन्तिम दिन अर्थात् मधुश्रावती भनिने १५ औँ दिन बलिरहेको दियो (टेमी)ले दाग्ने प्रचलन रहेको पण्डित मृत्युञ्जय झाले बताए । गर्भवतीलाई भन्ने टेमी नदिने चलन रहेको छ । बत्तीले जलाउनाले श्रीमानको आयु वृद्धि हुनुका साथै कल्याण हुने विश्वास गरिन्छ ।

आमोद प्रमोद, हासपरिहास र उन्मादले भरिएको यो पर्वमा नव बरवधुलाई आनन्द लिने मौका दिइन्छ । प्रेम, उन्माद र विशिष्ट संस्कृतिका रुपमा रहेको मधुश्रवणीलाई गलत रुपमा व्याख्या नगरी यसको संरक्षण गर्न आवश्यक रहेको मैथिली साहित्यकारहरु बताउँछन् ।
यो पर्वमा नवविवाहिताहरु श्रीमानले ल्याएको वा पठाएको फरिया, लेहंगा लगाएर सखीसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रंगात्मक धरातलमा उभ्याउदै रमाउँछन् । पर्वमा दैनिक रुपमा गौरी नागको पूजा गरिन्छ । पूजामा केंचुआ (धान, धूवो धनियाँ, बेसार, ल्वाङ, जाइफल, हर्रो, बर्रो र सुपारीको पोको) को प्रयोग गरिन्छ ।

शुक्रबार, ११ साउन, २०८१, बिहानको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर