विराटनगर । इलाममा चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना लागू हुने भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समिति इलामको वैठकले दशैं, तिहार, छठलगायतका चाडपर्वमा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न एकीकृत चाडपर्व सुरक्षा योजना २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याउने भएको हो ।
सुरक्षा योजना अनुसार नेपाल प्रहरीका ५२८ र सशस्त्र प्रहरीका २९७ जना सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको कमाण्डमा २ वटा कमाण्ड पोष्ट रहने, तत्काल परिचालन हुन सक्ने गरि ५० वटा क्वीक रेस्पोन्स टिम स्ट्याण्ड बाइ रहने, मोवाइल गस्ति ५ वटा, र पैदल गस्ति ४३ वटा रहने पोखरेलले बताए ।
यस्तै योजना अनुसार राजमार्गलगायत सीमा नाकाहरुमा १५ वटा भन्दा बढी चेक प्वाइन्ट संचालन गरिने छ । राजमार्गमा तीन वटा स्कर्टिङ टोली परिचालित हुनेछ भने सुरक्षा संवेदनशील भएका १६ स्थानमा पिकेट खडा गरिने पोखरेलले बताए ।
सुरक्षा समितिको बैठकले जिल्लावासी सबै नागरिकलाई ढुक्क भएर चाडवाडमा सम्मिलित हुन, रमाउन, मनोरन्जन गर्न तथा प्रेम र सद्भाव साटासाट गर्न कुनै अप्ठ्यारो नहुने पनि जनाएको छ ।

