चाडपर्व लक्षित सुरक्षा योजना : निगरानी बढाउँदै प्रहरी

विराटनगर । कोशी प्रदेशमा चाडपर्वलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना कडा बनाएको छ । दसैँं, तिहार, छठ पर्वलाई लिएर १४ जिल्ला रहेको कोशी प्रदेशमा सुरक्षा योजना कडा बनाएको हो ।

चाडपर्वको रौनक सुरु हुँदै गर्दा उच्च सुरक्षा सतर्कता अपनाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए । चाडपर्वमा भिडभाड हुने ठाउँ, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना, मठमन्दिर, धार्मिकस्थल, वित्तीय संस्था, सुनचाँदी पसल र सार्वजनिकस्थलको सुरक्षा कडा पारिएको बताए । ‘चाडपर्वमा कार्यालयहरु विदा हुन्छन् । ती कार्यालयको पनि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ,’ एसएसपी दाहालले भने, ‘त्यसबाहेक मानवीय चहलपहल धेरै हुने स्थानमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ । अपराधिक पृष्ठभूमिका र शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाइएको छ ।’

उनले चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, जुवातास, कालोबजारी नियन्त्रण, खुला सीमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार, आतिसबाजी तथा पटकाजन्य पदार्थहरुको ओसारपसारलाई नियन्त्रण गर्न तथा चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवतजावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागि यात्रु सहायता कक्षको स्थापना गरी सवारी दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन निर्देशन दिए ।

चाडपर्वमा हुनसक्ने हत्या, अपहरण, चोरी, ठगी, महिला हिंसा, कुटपिट, डकैती, पाकेटमारी, स्न्याचिङ, लुटपाट, जुवा, अवैध मदिरा बिक्रीवितरण, आगजनी, बिष्फोटक पदार्थ ओसारपसार, तस्करी, सवारी दुर्घटना, ठगी, ट्राफिक नियम उल्लंघनजस्ता घटना न्युनीकरण गर्नु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ ।

प्रदेशभरिमा ८ हजारभन्दा बढी प्रहरी परिचालन गरिने उनले बताए । प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयहरुलाई समन्वयमा चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको उनले बताए । ठूलो आर्थिक कारोबार हुने सुन पसल, सपिङ महल, बैकिङ्ग क्षेत्रमा सादा पोशाकका प्रहरीमार्फत विशेष निगरानी बढाइने उनले बताए । त्यसैगरी सीमा क्षेत्रबाट हुने चोरी पैठारी–निकासी, लागुऔषधको कारोबार, भीडभाड हुने क्षेत्रमा सर्वसाधारणको धनमाल लुटिने र ठगिन सक्ने संभावित जोखिमलाई ध्यान दिँदै प्रहरीले विशेष निगरानी गर्ने एसएसपी दाहालको भनाइ छ ।
प्रदेशको जिल्लाहरूको विभिन्न स्थानहरूमा नियमित चेक प्वाइन्ट ड्युटी (मापसे चेकिङ सहित) राखिने व्यवस्था मिलाइएको छ । साथै विभिन्न स्थानहरुमा ट्राफिक सहितको संयुक्त चेकिङ गरिने छ भने सीमा नाकाहरुमा चोरी तस्करी नियन्त्रण गर्नका लागि पनि प्रहरी परिचालन गरिनेछ । बजार क्षेत्र र राजमार्गहरुमा हुने गतिविधिलाई सहज बनाउन पिकेट स्कर्टिङ मोवाइल गस्ती पनि परिचालन गरिने छ ।

यात्रु सहायता कक्ष संचालन

चाडपर्वलाई लक्षित गरी कोशी प्रदेशको १४ जिल्ला जिल्लाहरूमा यात्रु सहायता कक्ष स्थापना गरी संचालनमा आएको छ । यात्रुहरूलाई सहजता प्रदान गर्न १४ जिल्लाहरूमा यात्रु सहायता कक्ष संचालनमा ल्याउन निर्देशन दिइसकेको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको एसएसपी दाहालले बताए ।

सुरक्षामा कुकुर पनि

चाडपर्वलाई लक्ष्य गरी धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरी÷डकैती हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शंकास्पद स्थानमा जाँच गर्न थालिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुईवटा तालिमप्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शंकास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए ।

चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराध हुन नदिन तालिमप्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उनले बताए । ‘कुकुरको सहयोगबाट सवारी जाँच गर्दा लागुऔषध कारोबार गर्ने व्यक्ति, लागुऔषध र शंकास्पद वस्तु बरामद गरिँदै आइएकाले धरान सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दै आइएको हो,’ उनले भने ।

सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, गाँजा, पटका, विष्फोटक पदार्थ, अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कुकुरसहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

बिहिबार, २४ असोज, २०८१, बिहानको १०:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर