के सरकार नै चाहदैन लैङ्गिक हिंसाको अन्त्य ?

  गणेश लम्साल

लैङ्गिक हिंसा हाम्रो समाजमा सदियौंदेखि जरा गाडेर बसेको छ । यसलाई अन्त्य गराउन आलुको बोट उखेलेर फयाँकेजस्तो सजिलो छैन । देखवटी रुपमा हुने गोष्ठी, सेमिनार र प्रर्दशनहरुले मात्र यो काम गर्न सक्ने देखिदैन । यसको अन्त्य गराउन त समाजमा अझै कायम रहेको गलत मूल्यमान्यताहरुलाई हटाउन सक्नुपर्छ । समाजको खराब सोचमा परिवर्तन गराउन सक्नुपर्छ । हाम्रो समाजमा पहिले भन्दा धेरैनै लैङ्गिक हिंसा कम हँुदै गएको छ । तर अन्त्य हुन सकेको छैन । समाजभित्र पसेर अध्यनगर्ने हो भने हिंसाका भयावह रुप पाइन्छ ।यसैले भन्न सकिन्छ यस प्रकारको हिंसा अन्त्य गराउन अझै हामीले रुखको पातमा मात्र पानी हालिरहेका छौं । जरामा पानी हाल्नै सकेका छैनौं ।

जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ काअनुसार नेपालमा १५देखि ४९ वर्षका पाँच जनामध्ये एक जना महिलाले प्रत्यक्ष हिंसा भोग्छन् । चार जनामध्ये एक जना श्रीमान्बाट कुटिन्छन् । सयमा ३१ पुरुष श्रीमती कुट्नु पर्छ भन्ने ठान्छन् । हिंसा भोगिरहेका ६६ प्रतिशत महिलाहरुले प्रतिरोध नै गर्दैनन् ।

यसैले हाम्रो समाजमा रहेको लैङ्गिक हिंसा अन्त्य गराउन संयुक्त्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) ले लैङ्गिक विभेदमा आधाारित हिंसा रोकथाम र प्रतिकार्य परियोजनामार्फत् नर्वेजियन राजदुतावास र स्विस सरकार विकास (एसडिसी) को सहयोगमा कार्ययोजना बनाएर पहिलो चरणमा २०७०÷०७१ देखि गैससहरु मार्फत रुपान्तरण कार्यक्रम नमूनाका रुपमा संचालन गराउन थालेका थिए ।

हाल कोशी प्रदेशमा साझा सवालका लागि साझा मञ्च (कोकन) मार्फत मोरङको विराटनगर महानगरपालिका ओखलढुंगाको चिसंखुगढी, मानेभन्ज्याङंग, मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिका अनि उदयपुरको बेलका, चौदण्डीगढी, कटारी र त्रियुगा नगरपालिकाका छानिएका ४१ वटा विद्यालयहरुमा यो कार्यक्रम अघि बढिरहेको छ ।

सुदुरपश्चिममा पिस विननामक संस्थाले यो कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालयमा अध्यनरत किशोर किशोरीहरुका लागि संघीय सरकारको शिक्षा मन्त्रालयले दातृ निकायको सहायोगमा विज्ञहरु मार्फत १६ हप्ते रुपान्तरण नामक पुस्तक तयार गराएको छ । उक्त पुस्तकमा सही र गलत समाजिक मूल्यमान्यता र वरिपरिको परिवेश, किशोर अवस्थामा हुने परिवर्तन, शारीरिक अङ्ग, प्रजनन् अवस्था बुझाउने, हिंसाको प्रकार र रोकथामका उपायबारे उल्लेख गरिएको हुन्छ ।

उक्त शिक्षा पढाउन कार्यक्रममार्फत किशोर र किशोरीहरुका लागि अलग अलग तालिमप्राप्त विद्यालयकै शिक्षक, युवा उमेरका साथी शिक्षक र शिक्षिकाहरु तोकिएका हुन्छन् । उनीहरु मार्फत हप्ताको एक दिन अतिरिक्त समयमा अतिरिक्त क्रियाकलाप र प्रत्यक्ष अभ्यासहरु मार्फत रुपान्तरण शिक्षा पढाउने गरिन्छ । पढाइमा सहभागी किशोर किशोरीरुले आफूले भोगेका र देखेका समस्याहरु आप्mना साथी शिक्षकहरुलाई सुनाउँछन् । र, सबैको समस्यालाई समूहमा राखेर छलफल गरि निश्कर्ष निकालिन्छ ।

पठनपाठनमा सहभागी शिक्षकहरुका अनुसार हाल अतिरिक्त समयमा कार्यक्रम सञ्चालन भैरहेको रुपान्तरण शिक्षाले विद्यालयमा अध्यनरत किशोर किशोरीहरुमा वरिपरिको वतावरण बुझाउँदै विश्वास गर्ने बानीको विकास गराउँछ । गोपनियताबारे पनि परिचित गराउँछ । किशोर उमेरमा आउने शारीरिक परिवर्तनबारे बुझाउँदै अङ्गहरुको विकास र परिवर्तनको अवस्थावारे पनि परिचित गराउँछ । साथै प्रजनन अङ्गहरुको पहिचान र काम, सुरक्षित र असुरक्षित शारीरिक सम्पर्क, गर्भधारण, लिङ्ग, र बालबिवाह आदिका बारेमा पनि बुझाउँछ ।

यसैगरी पित्तृसत्ता र मानवअधिकार अनि कर्तव्यबारे पनि बुझाउँछ । यसैले किशोर किशोरीहरुकालागि रुपान्तरण शिक्षा अत्यन्तै प्रभावकारी बनेको छ । तर दातृ निकायले गैसस मार्फत सीमित विद्यालयहरुमा मात्र सञ्चालन गराइरहेको रुपान्तरण शिक्षाबाट देशका धेरै किशोर किशोरीहरु बञ्चित छन् । विद्यालयमा अध्ययन गर्ने किशोर किशोरीहरुले भोग्नु पर्ने हिंसा रोकथाम गराउँदै उनीहरुको समग्र विकासका लागि निर्माण गरिएको रुपान्तरण शिक्षा तीनै तहका सरकारले अझै पाठयक्रममा लागू गराउन चाहेका छैनन् ।

कोकनले विराटनगरमा पनि चार विद्यालयमा यो कार्यक्रम चलाइरहेको छ । तर महानगरले बजेट र पाठ्यक्रम उपलब्ध नगराएका कारण पाठ्यक्रम बिनानै पठनपाठन सुरु गरिएको छ । अरु पालिकाहरुको हालत पनि यस्तै छ ।यसबाट के प्रस्ट हुन्छ भने समाजलाई बदनाम, विभेदकारी, पीडित र गरिब बनाइराख्ने हिंसालाई पूर्णरुपमा अन्त्य गराउन सरकार अझै पनि गम्भीर छैन । सरकार स्वयम् यसप्रति जिम्मेवार बनिरहेको छैन । यदि सरकारले चाहन्थ्यो भने यसप्रति गम्भीरता देखाउँथ्यो । रुपान्तरणमा अगाडि बढ्थ्यो । तर सरकारको तत्परता नहुँदा सबैतिर यो अभियान उद्देश्य अनुरुप लागू भइरहेको छैन ।

सोमबार, ११ भदौ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर