कोशीमा विधि तोड्ने प्रतिष्पर्धा

 सम्पादकीय

सरकार ढाल्ने र टिकाउने नाममा कोशी प्रदेशमा जे–जस्ता हर्कतहरु मन्चन भइरहेका छन्, यसले प्रदेश संरचनाको भलो नचिताउनेहरु सबैभन्दा धेरै खुसी भएको हुनुपर्छ । सत्ता पक्ष होस् कि विपक्ष सबै दलहरु विधिमा भन्दा तिक्डममा, मूल्यमा भन्दा षड्यन्त्रमा सफलता देख्ने भइसकेको प्रमाण कोशीमा बारम्बार प्रमाणित भएको छ । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा यस्तै तिक्डम र षड्यन्त्र झनै धेरै उजागर भयो । यसले दलहरुको प्राथमिकता र गन्तव्य केवल सत्ता मात्रै हो भन्ने देखाएको छ । सत्ता राजनीतिको सबैभन्दा बद्नाम अभ्यास गरेको इतिहास कोशी प्रदेशले बनाइसकेको छ । यो दुर्नाम फैलाउन प्रदेशका सत्ता र विपक्षी सबै उत्तिकै जिम्मेवार छन् ।

यसपटक मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन कोशीमा प्रयोग गर्न कुनै हत्कण्डा बाँकी रहेन । सत्ता पक्ष र विपक्ष दुवैले आफूलाई को बढी तिक्डमबाज हो भन्ने पुष्टि गर्ने प्रतिष्पर्धा गरे । एकअर्काको योजना विफल पार्न दलहरुले गरेको प्रतिष्पर्धाले तत्कालका लागि उनीहरुको अहम्को जित भएको हुनसक्छ । तर, मूल्यको राजनीति र विधिको सर्वोच्चताको भने हार भएको छ । झट्ट हेर्दा आपसी लडाइँमा देखिएका सत्ता गठबन्धन र विपक्षी गठबन्धनका दलहरु दुवैले मिलेर प्रदेशमा विधिको हुर्मत लिन सहकार्य गरेका छन् । त्यसैले काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसहितको सत्ता गठबन्धन मात्रै होइन, एमाले र राप्रपासहितको विपक्षी गठबन्धन पनि यो तमासाका प्रत्यक्ष कर्ताहरु हुन् ।

प्रमुख विपक्षी दल एमालेले यसपटक गैर राजनीतिक र असंसदीय चरित्र प्रदर्शन गर्यो । उपसभामुखदेखि आफ्ना सात र राप्रपाका १ जना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएको एमालेले सरकारलाई विश्वासको मत लिन नदिन हरसम्भव षड्यन्त्र गर्यो । सबैभन्दा आपत्तिजनक व्यवहार त उपसभामुख सृजना दनुवारबाट प्रदर्शन भयो । एमालेको इशारामा उनले आफ्नो संवैधानिक दायित्व भुल्ने काम गरिन् । अब उनलाई नैतिक रुपमा पनि उपसभामुख पदमा बसिरहने छुट छैन ।

सत्ता पक्षले यसअघि सभामुखलाई हस्ताक्षर गराएर सरकार बनाउने षड्यन्त्र गरेको थियो । एमाले नेताहरुले आफूहरुले पनि त्यसैको सिको गरेको भन्दै निर्लज्ज अभिव्यक्ति दिएका छन् । सत्ता पक्षले सभामुख दुरुपयोग गर्नु नाजायज थियो, सर्वोच्च अदालतले त्यो कदमलाई दण्डित गरिदियो । दोस्रोपटक मुख्यमन्त्री दाबी गर्दा गठबन्धनले सभामुखलाई राजीनामा गराउने नैतिकता देखाएको थियो । एमालेले भने उपसभामुखलाई र ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर देखादेखि षड्यन्त्र र तिक्डमको प्रयास गरेको छ । यो संसदीय इतिहासको दुःखद् अध्याय भएर रहनेछ ।

सत्ता पक्षले एमालेभन्दा अघि बढेर उस्तै तिक्डम रोज्न मन परायो । बैठकको अध्यक्षता गरेको व्यक्तिलाई मत बराबरी भएको अवस्था बाहेक मत दिने अधिकार नहुने संविधानमा प्रष्ट उल्लेख छ । यद्यपि संविधानको उक्त धारालाई प्रदेश सभाको विशेषाधिकारयुक्त धाराको सहारा लिँदै गठबन्धनले जबरजस्ती बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई मत दिन लगायो । उनले मत सच्याउने सूचनापछि मात्रै मतदान गरेका थिए । सरकार टिकाउन जुनसुकै उपाय अपनाउने र त्यसलाई जायज ठहर गर्ने सत्ता गठबन्धनको जबरजस्ती विधिमाथिको अर्को ठूलो प्रहार हो । यसर्थ कोशीका दलहरुले विधि तोड्ने प्रतिष्पर्धा जसरी जारी राखेका छन्, यो तत्काल बन्द हुनुपर्छ । अन्यथा कोशी प्रदेश सभा सबैभन्दा बद्नाम राजनीतिक अभ्यासको पर्याय बनेर इतिहासमा कलंकित हुनेछ ।

बुधबार, ०६ भदौ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर