काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सोमबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित गरेको थियो ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो । श्रेष्ठ करिब १४ महिना प्रधानन्यायाधीशका रुपमा रहनेछन् ।