विराटनगर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विराटनगरका स्वतन्त्र उम्मेदवारहरू ‘लालटिन’ चुनाव चिन्हप्रति आकर्षित भएका छन् ।
शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महानगरपालिको विभिन्न पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका ४४ मध्ये १७ जनाले ‘लालटिन’ चुनाव चिन्ह लिएका छन् ।
विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका उमेश यादव र उपमेयर पदमा नमिता न्यौपानेले ‘लालटिन’ चुनाव चिन्ह लिएका छन् । स्वतन्त्र उम्मेदवार बनेका दुई प्रभाबशाली नेताले लालटिन लिएपछि अन्य स्वतन्त्र उम्मेदवार पनि त्यसप्रति आकर्षित भएका थिए ।
जनता समाजवादी पार्टी (जसपा) बाट यादव र नेकपा माओवादी केन्द्रबाट न्यौपानेले विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । उनीहरु दुईसहित १७ जनाले ‘लालटिन’ चुनाव चिन्ह रोजेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । लालटिन रोज्ने १३ जना वडाअध्यक्षका उम्मेदवार छन् ।
विराटनगर ९ को वडाअध्यक्षमा उम्मेदवारी दिएका औषधि व्यवसायी देशबन्धु ढकाल, विराटनगर १० को वडाअध्यक्षमा उम्मेदवार दिएका निवर्तमान वढाध्यक्ष माधवराज वाग्ले, विराटनगर ११ को वडाअध्यक्षमा उम्मेदवारी दिएका सामाजिक अभियान्ता निर्मल तामाङ्ग, विराटनगर ९ को वडासदस्यमा उम्मेदवारी दिएका जतिन ताम्रकारलगायतले लालटिन चुनावचिन्ह रोजेका छन् । वाग्ले यसअघि पनि स्वतन्त्र बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
स्वतन्त्रले एउटै चुनाव रोज्दा मतदातालाई पनि यादगर हुने भएकाले सल्लाह गरेर एकैखालको चुनाव चिन्ह रोजेको वडाअध्यक्षमा उम्मेदवारी दिएका ढकालले बताए । विराटनगर महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सक्रिय गौतमले ‘घण्टाघर’ चिन्ह पाएका छन् । उपमेयरमा उठेका बसुन्धरा देवी झाले जेब्रा र गंगादेवी सुवेदीले ‘चापाकल’ चिन्ह रोजेका छन् ।
विराटनगरमा उम्मेदवारी दिएकामध्ये शुक्रबार २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ९७ पदको लागि महानगरमा ७ सय २३ जना चुनावी मैदानमा छन् ।
शहिहाे