विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले २ कार्यकाल पूरा गरेर आज शीतल निवास छाड्दैछिन् ।
राष्ट्रपतिमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन ।
राष्ट्रपति भण्डारीले आइतवार आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी छन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेकी हुन् । भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण कार्यक्रम आज सोमवार हुँदैछ । सोमवार दिउँसो १ बजे शीतल निवासमा तय गरिएको छ ।
शपथ लिनुअघि पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

