सम्पादकीय

ठगीधन्दाको जालो

समाजमा ठगी धन्दाको जालो कुन रुपमा फैलिएको छ भन्ने तथ्य चिहाउने एउटा आँखीझ्याल हो मोरङ सुन्दरहरैंचाको घटना । सुनचाँदी पसलेले बकाइदा बैंकिङ कारोबार गरेर सर्वसाधारणको करोडौं रकम जोखिममा पारेको घटना जति गम्भीर छ, हाम्रा प्रशासनिक निकायहरुको भ्ुत्तेपन उत्तिकै आपत्तिजनक छ । धेरै ब्याज दिने नाममा एक जना व्यक्तिले सयौं सर्वसाधारणलाई ठगिरहँदा पनि पटक्कै थाहा नपाउने सरकारी संयन्त्र कति सुस्त छ भन्ने देखिन्छ । यसबाहेक नागरिकलाई वित्तीय ज्ञान दिन नसक्नु, उनीहरुका दैनन्दिनका समस्याबारे राज्यका सबै अंगहरु बेखबर जस्तै रहनुले पनि यस्ता समस्या बारम्बार दोहोरिने गरेका छन् ।

सुन्दरहरैचा नगरपालिका १० खोर्सानेमा रहेको ‘कमला ज्वेलर्स’ का संचालक ४५ वर्षीय राजु विश्वकर्माले ५५ जना सर्वसाधारणलाई १८ देखि २४ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा पारी ठगिरहेको घटना सार्वजनिक भएपछि एकैपटक धेरै प्रश्न उब्जेका छन् । यो मामिलामा धेरैले सर्वसाधारणकै कमजोरी पनि औंल्याउन सक्छन् । तर, जनतालाई वित्तीय साक्षरतासमेत नदिने राज्यको कमजोरी यो घटनाको मुख्य कारण हो । कोसँग बैकिङ कारोबार गर्ने र कोसँग नगर्ने भनेर नागरिकलाई सजग बनाउने दायित्व सरकारको हो । स्थानीय सरकार यसमा सबैभन्दा धेरै जिम्मेवार बन्नुपर्ने खाँचो छ । गाउँ–गाउँमा खुलेका सहकारीले जस्तै गरी पसल सन्चालकहरुले समेत बैकिङ कारोबार गरेर सर्वसाधारण ठग्नु गम्भीर आर्थिक अपराध हो । यस्ता घटनाका दोषीहरुले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन ।

प्रहरीका अनुसार सहकारीले जस्तै पासबुक छापेर बैंक र सहकारीको भन्दा आकर्षक ब्याज दिने भन्दै सर्वसाधारणबाट रकम संकलन गर्ने र घर जग्गामा लगानी गर्ने गरेको पाइएको छ । यसरी आफ्नो फाइदाका लागि सर्वसाधारणको वर्षौंदेखिको कमाइ जोखिममा पार्ने दोषीलाई कारवाही गरेर मात्रै हुँदैन, पीडकको जायजेथाबाट सर्वसाधारणको लगानी सुरक्षित पनि पार्नुपर्छ । यो काममा राज्यले अग्रसरता लिन आवश्यक छ । र, सर्वसाधारणले पनि कस्तो व्यक्ति वा संस्थासँग कारोबार गर्ने, कसरी गर्ने भन्ने कुरामा सजगता देखाउन आवश्यक छ । जतिसुकै भरलाग्दो भए पनि व्यक्तिसँग बैकिङ शैलीमा कारोबार गर्ने कुरा कहिल्यै सुरक्षित हुँदैन । त्यसैले धेरै ब्याजको लोभमा परेर जोखिमपूर्ण बाटो हिँड्ने गल्ती नगरौं । यस्ता घटना यसअघि पनि धेरैपटक देखिएका छन् ती घटनाबाट पाठ सिकेर पनि सबैले सजगता अपनाउन अबेर नगरौं ।

बुधबार, २१ मंसिर, २०७९, बिहानको ०८:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर