विराटनगर ।मोरङको रतुवामाई ६ केशरबारीका ७५ वर्षीय चन्द्रप्रसाद गुरागाईं क्यान्सर रोगसँग सघन संघर्ष गरिरहेका छन् । गुरागाईंलाई शरीरमा रगत उत्पादन गर्ने बोनम्यारोको क्यान्सर चौथो चरणमा छ । १ वर्ष अगाडिदेखि थलिएका उनलाई नियमित किमोथेरापी गर्नुपर्छ ।
मोरङ क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभामा विजयी भएका गणेश उप्रेती सुशीलको विजय ¥यालीमा सहभागी हुन घर अगाडि फूलको थुँगा लिएर बसेका थिए । वैशाखीको सहारामा उभिरहेका उनले आर्शिवाद दिँदै उप्रेतीलाई भने, ‘यो देश बचाउनु, विदेशीसँग घातक सम्झौता नगर्नु, विदेशीको हेपाइ साह्रै नराम्रो हुन्छ ।’
उनले त्यसो भनेपछि उप्रेतीले भने, ‘हुन्छ तपाईहरुको आशिर्वाद लिएर देशको हितमा काम गर्छु ।’ प्रदेशसभामा विजयी भएका उप्रेती त्यसो भनेर लावा लस्करसहित अगाडि बढे ।
गुरागाईंलाई आफू क्यान्सर रोगी हुँ भन्ने थाहा नहुने कुरै भएन । ६ महिना थलिएका उनी पटकपटक किमो गरेर बल्ल तल्ल वैशाखीको सहारामा घरको आँगन र सडकछेउसम्म हिंडडुल गर्न सक्ने भएका छन् । उनको व्यक्तिगत समस्या ठूलो हो । तर, उनलाई देशको माया छ । ‘म त केही दिनको पाहुना न हुँ, देशलाई राम्रो गरे हुने थियो,’ जित्नेसँग तपाईंको अपेक्षा के छ भन्ने प्रश्नमा १ वर्ष अगाडिदेखि क्यान्सरले थलिएका उनले भने, ‘इलाज गर्न पाएँ भने अलिक वर्ष बाँचिन्थ्यो कि भन्ने लागेको छ ।’
उनलाई एक पटक किमो गर्दा २५ हजार खर्च हुन्छ । ‘जहाँ इलाज गर्छु त्यहाँ स्वास्थ्य बिमा पनि चलेन । हामी लाचार भएको मान्छे के गर्नु र मृत्युलाई कुर्नु मात्रै हो,’ उनले भने, ‘केही व्यक्तिगत सहयोग गर्छन् कि भन्ने अपेक्षा पनि छ ।’ स्वास्थ्य बिमा भरतपुर क्यान्सर अस्पताल वा कोशी अस्पतालमा मात्रै छ । तर, त्यहाँ धेरै भीड छ । त्यसलाई सहज ढंगले उपचार गर्ने वातावरण मिलाइदिए आफूजस्ता धेरै रोगीहरुलाई राहत हुने उनी बताउँछन् । ३५ वर्ष उनले गाडी चलाए । महेन्द्र राजमार्ग सञ्चालन भएदेखि उनले ड्राइभिङ गरेका हुन् ।
उप्रेतीको विजय ¥याली घर अगाडि आउन लागेपछि रतुवामाई ६ नम्बर केशरबारीकी ६२ वर्षीय टंकमाया भेट्वाल हस्याङ, फस्याङ् गर्दै कलश र फूलको माला लिएर अगाडि आइन् । ¥याली नजिकै पुगेपछि उप्रेतीलाई माला लगाउँदै उनले भनिन्, ‘हामीलाई मल चाहियो । किसानलाई मल, बिउ, तयारी हुनुपर्छ, रोजगारको व्यवस्था हुनुप¥यो । गरिब दुःखीलाई जुनसुकै जात होस् कोटा पाउनु प¥यो । गरिबहरु क्षेत्री बाहुनलाई पनि कोटा दिनुपर्छ ।’
सोही ठाउँकी मन्जु भेट्वाल हुन् या देवीप्रसाद भेट्वाल सबैको एउटै खालका माग थिए । आफूले भोट हालेका मान्छेले जितेर गएपछि आफ्ना पनि अपेक्षा पूरा हुन्छन् भन्ने उनीहरुको आशा छ । ‘धानरोप्ने बेला भयो मल पाउँदैनौं । पानी पटाउने बेलामा पानी हुँदैन । डिजेलको भाउ घट्नु पर्यो । प्रतिबद्धतामा लेखेका सबै पुरा गर्नुप¥यो । धूलो उड्ने बाटोलाई पिच बनाउनु प¥यो । भनेको कुरा पुरा नगरे हामी फेरि लखेट्छौं,’ सोही ठाउँकी सरस्वता तिम्सिनाले भनिन् ।
रतुवामाई ५ दाम्राभिट्टाकी धनमाया लुईंटेल पनि जितेर गएका नेताहरुले देशमा थिति बसाल्न लाग्नुपर्ने सुझाव दिन्छिन् । ‘जनताले विजय गराएको नेताले व्यक्ति र पार्टी नहेरी सामान्य कुरा खानेपानी, बाटोघाटो बनाउनु प¥यो । स्वास्थ्य बिमाको कार्यक्रम बिना झन्झट सहज ढंगले लागू हुनुप¥यो । बेरोजगारी अन्त्य हुनुप¥यो । साना उद्योगहरुलाई प्रबद्र्धन गर्ने, महिला उद्दमीलाई प्रोत्साहन गर्नुप¥यो,’ उनी नेताले जस्तै फरर आफ्ना कुरा भन्छिन् ।
रतुवामाई ७ डाँगीटोलाका ७९ वर्षीय भगवान साहले आफूले चाहेका उम्मेदवारले जितुन् भनेर मन्दिरमा भाकल गरे । पार्टीका झण्डा मन्दिरमै राखे । जब परिणाम आयो विजयी नेतालाई लगेर मन्दिरमा ढोगाए र झण्डा निकाले । मन्दिरमा भाकल गरिगरी नेताका लागि प्रार्थना गर्नुको मुख्य माग राख्दै उनी भन्छन्, ‘जनताको सेवा र भलाई होस्, झोपडीदेखि विकास होस् ।’
सोही ठाउँकी ७१ वर्षीय भगीयादेवी हलुवाई आफूलाई सुजाता कोइरालाको मितिनी बताउँछिन् । सुजाता र गणेश उप्रेतीले चुनावमा जिताउन उनले पनि मन्दिरमा भाकल गरेकी थिइन् । तर दुई उम्मेदवारमध्ये उप्रेतीले चुनाव जित्दा कोइरालाले चुनाव हारिन् । उनलाई गणेश उप्रेतीले चुनाव जित्नु पनि आफूले भाकल गरेकै कारण हो जस्तो लाग्छ । उनले सुजाता कोइरालाले हारेको खबर पाउने वित्तिकै रुँदैरुँदै सुजातालाई बचाउ बचाउ भनेर मन्दिरमा गएर आशिर्वाद मागिन् तर… अन्तिममा गणेशले जित्दा उनलाई धेरै खुसी लागेको सुनाउँछिन् ।
रतुवामाई १० धुलाबारी–मंगलबारेका ७८ वर्षीय विष्णुबहादुर देउजा बिहान ८ बजेदेखि ¥यालीमा हिंड्नलाई प्रतिक्षा गरेर बसेका थिए । तर, ¥याली दिउँसो २ बजेतिर मात्रै आयो । उनी रुँघेरै बसिरहे । ‘पार्टीले जित्यो भनेर हर्षले रुँघेर बसेको हो । हामीलाई बाटो चाहिएको छ । किसानलाई मल चाहिएको छ । त्यो हाम्रा नेताले गर्नुप¥यो । मल छैन हामी मरियो । घरै अगाडि रहेको मदन मार्ग पिच हुनुप¥यो,’ माला लगाइदिएसँगै उनले आफ्ना कुरा विजयी नेतासामू भने ।
निर्वाचन जितेर गाउँगाउँमा हिंडिरहेका गणेश उप्रेती भने आफूले निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गर्ने बताउँछन् । ‘हामीले हाम्रो गठबन्धनको उम्मेदवार सुजाता कोइरालालाई जिताउन सकेनौं, तर संघबाट आउनुपर्ने विकास निर्माणको काममा पहल गर्नेछु,’ उप्रेती भन्छन्, ‘प्रदेशका कार्यक्रमहरु पनि जनताको बीचमा बोलेका कुरा पुरा गर्नेछौं ।’