मोरङमा १६६ उम्मेदवारको जमानत जफत

विराटनगर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभातर्फ मोरङमा १६६  जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फ ८७ र प्रदेशतर्फ ७९ जना उम्मेदवारको जमानत रकम जफत भएको हो ।

मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फका ११ जना उम्मेदवारको जमानत जफत भएको छ । यस्तै प्रतिनिधिसभातर्फ मोरङको क्षेत्र नं. २ मा ११, क्षेत्र नं. ३ मा २८, क्षेत्र नं. ४ मा १३, क्षेत्र नं. ५ मा १३ र क्षेत्र नं. ६ मा ११ जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालय प्रदेश १ का निर्वाचन अधिकारी लेवन काश्यप अधिकारीले जानकारी दिए ।

उम्मेदवारले धरौटी रकम जोगाउन नसक्दा ११ लाख २५ हजार राजश्व निर्वाचन आयोगमा जम्मा भएको छ ।

त्यस्तै प्रदेशसभातर्फ मोरङ १ (१) मा ३ जना, (२) मा ५ जना, मोरङ २ (१) मा १० जना, मोरङ २(२) मा ८ जना, मोरङ ३ (१) मा ४ जना, (२) मा १० जना, मोरङ ४ (१) मा ५ जना, (२) मा ६ जना, मोरङ ५ (१) ३ जना, (२) मा ७ जना र मोरङ ६(१) मा १० जना, (२) मा ८ जना रहेको निर्वाचन अधिकारीले बताए । मोरङ ६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ १०५ र १२ निर्वाचन क्षेत्र प्रदेशसभा सदस्यतर्फ ११० गरी कुल २१५ जना चुनावी प्रतिस्पर्धामा थिए ।

जिल्लामा ६ मा १ लाख २६ हजार ७६१ मतदाता रहेकोमा ६७.५४ प्रतिशत अर्थात ८५ हजार ६१३ मत खसेको थियो । जसमा ६.६ प्रतिशत अर्थात ५ हजार १८७ मत बदर भएको थियो भने ९३.९४ प्रतिशत अर्थात ८० हजार ४२६ प्रतिशत मत सदर भएको छ ।

धरौटी रकम जोगाउन उम्मेदवारहरूले आफ्नो क्षेत्रमा खसेको कुल मतमध्ये सदर मतमा १० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छ । १० प्रतिशत मत ल्याउने नसक्ने उम्मेदवारको धरौटी जफत भएको अधिकारीले बताए ।

प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवार दर्ता शुल्क तोकिएको थियो । आयोगले तोकिएको रकममध्ये महिला, दलित, अल्पसंख्यकको हकमा ५० प्रतिशत उम्मेदवार दर्ता शुल्क छुट दिएको थियो । सोही अनुसारको धरौटी रकम जफत भएको उनले बताए ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य साना दलका उम्मेदवारले धरौटी रकम जोगाउन सकेनन् । उम्मेदवारी दिएकामध्ये ४९ जनाले मात्र धरौटी जोगाउन सफल भएका छन् ।

मङ्गलबार, १३ मंसिर, २०७९, दिउँसोको १२:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर