
किरण गिरी
जब विश्व खेलक्षेत्र फ्री फायर, पब्जी खेलेर मेडल जित्ने भइसक्यो, हामी अझै कहाँ अल्झिरहेका छौँ भन्ने कुराले नै नेपाली खेलकुदको वर्तमान अवस्था र हाम्रो सोचको धरातललाई स्पष्ट पार्छ । हामीले हिंजोको र आजको खेलकुद, हिंजोको र आजको खेलाडी र युवाको मनस्थितिबीचको फरक बुझ्न सकेका छैनौँ । जबसम्म यो आधारभूत कुरा बुझिँदैन, तबसम्म खेलकुदको विकास केवल भाषणमा मात्र सीमित रहन्छ ।
गलत प्राथमिकता र लगानीको अभाव
आज हाम्रो प्राथमिकता कहाँ छ ? हामी आफ्नो मनोरञ्जनका लागि ‘भ्याट्रन खेलहरु’ मा लाखौं लाख खर्च गर्न तयार छौँ । तर विद्यालयस्तरको खेलकुदमा लगानी शून्य छ । हामीले यो बुझ्नुपर्छ कि विद्यालय खेलकुदमा गरिएको लगानी भनेको आजको भोलि नतिजा आउने विषय होइन, यो कम्तीमा पाँच वर्षपछिको परिणाम हो । एउटा बच्चाले कलिलै उमेरमा आफू कुन खेलमा रुचि राख्छु र भविष्य बनाउन सक्छु भनेर पहिचान गर्ने अवसर विद्यालयबाटै पाउनुपर्छ । तर, हामीले विद्यालयमा यस्तो वातावरण नै बनाउन सकेका छैनौँ ।
राजनीतिक हस्तक्षेपः खेलकुद विकासको बाधक
नेपाली खेलकुदको सबैभन्दा ठूलो समस्या राजनीतिक रूपमा हस्तक्षेप हो । राष्ट्रिय खेलकुद परिषद्देखि प्रदेश खेलकुद विकास बोर्ड र विभिन्न खेल संघहरूमा खेलकुद बुझेको, योगदान दिएको र सम्बन्धित खेल सग जोडिएको व्यक्तिभन्दा ‘मेरो पार्टीको मान्छे’लाई नियुक्ति दिने प्रवृत्ति हाबी छ । यस्ता निकायमा बसेकाहरूले राज्यको लगानी खेलाडी र खेल विकासमा होइन, आफ्ना पार्टीका कार्यकर्ता र भ्रातृ संगठनका संस्था तथा क्लबहरूलाई महत्व दिने काम गरिरहेका छन् । केपी ओली कप र प्रचण्ड कप जस्ता प्रतियोगिताहरू यसका उदाहरण हुन् । जहाँ लगानी संस्थागत विकासभन्दा पनि दलगत प्रचारमा केन्द्रित देखिन्छ । यसले गर्दा राज्यले गरेको लगानी खेलाडीसम्म पुग्दै पुग्दैन ।
‘प्रयोग गर र फाल’ संस्कृति
राज्यले खेलाडीलाई ‘जुका’ जस्तो व्यवहार गरेको छ । चाहिन्जेल रगत चुस्ने, अनि अघाएपछि छोडिदिने । हामीले एक–दुई सफलतामा रमाउने बाहेक केही गरेका छैनौँ । दीपक विष्टले ऐतिहासिक सफलता हासिल गरे, हामीले उनलाई सम्मान ग¥यौँ । तर, उनीपछिको दोस्रो वा तेस्रो खेलाडी तयार पार्ने प्रणाली खोइ ? हामीले पहिलो हुनेलाई मात्र हे¥यौँ, तर एउटा बलियो प्रणाली बनाउन सकेनौँ, जसले निरन्तर खेलाडी उत्पादन गरोस् । आज एक खेलाडीले अलिकति राम्रो गर्नेबित्तिकै भविष्यको असुरक्षाले गर्दा पासपोर्ट बोकेर दूतावास धाउनुपर्ने अवस्था छ । किनकी उसलाई थाहा छ, खेलेर मात्र भविष्य सुरक्षित छैन ।
क्रिकेटमा देखिएको केही सफलतालाई लिएर हामी गर्व गर्छौं, तर त्यो पनि हाम्रो आफ्नै प्रणालीको उपज होइन । अधिकांश नेपाली क्रिकेट खेलाडीहरूको आधारभूमि भारत हो । उनीहरूले भारतीय स्कुलमा पढेर, त्यहीँको प्रतिस्पर्धामा खेलेर आफूलाई निखारेका हुन् । यो हाम्रो बेस लेभलमा गरिएको लगानीको परिणाम होइन ।
सम्भावनाको पाटो
नेपालमा मेडलको सम्भावना भएका खेलहरू नभएका होइनन् । तेक्वान्दो, कराते, उसु, बक्सिङ, ब्याडमिन्टन र टेबल टेनिस जस्ता व्यक्तिगत खेलहरूमा हामीले लगानी केन्द्रित गर्न सक्यौँ भने एसियाली र विश्वस्तरमा समेत मेडल ल्याउन सकिन्छ । तर, यसका लागि लगानी ग्रास लेभलबाटै हुनुपर्छ । एसएलसी पास गरेपछि खेल्न थालेर मेडल आउँदैन, त्यसका लागि ५–६ कक्षामै खेलाडी पहिचान गरेर प्रशिक्षण दिनुपर्छ । हामीकहाँ पूर्वाधारको पनि चरम अभाव छ । कुनै बेला विराटनगरमा ३० वटा फुटबल मैदान थिए, आज ३ वटा पनि छैनन् । घर र सहर बने, तर खेल मैदानहरू मासिए ।
अन्त्यमा, जबसम्म खेलकुदलाई राजनीति हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरिँदैन, प्रशिक्षकको योग्यता, खेलाडीको भविष्य र निष्पक्ष छनोट सुनिश्चित गर्ने वातावरण बन्दैन, तबसम्म हाम्रो खेलकुदको विकास सम्भव छैन । नत्र हामी एक–दुईवटा झुक्किएर आएका सफलतामा खुसी मनाउँदै बस्नेछौँ, तर वास्तविक र दिगो विकास कहिल्यै हुनेछैन । – कुराकानीमा आधारित