विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं ५ (१) प्रदेशसभामा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाईको जित निश्चित भएको छ ।
सुरुवातबाट अग्रता कायम राखेका मण्डलले एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई फराकिलो मतअन्तरले पछि पार्दै जितजिक पुगेका हुन् ।
पछिल्लो मतगणना अनुसार मण्डलले ४ हजार ७४३ मतले एमालेका उम्मेदवार साहलाई पछि पारेका छन् । ३१ हजार ६३६ खसेको मतमध्ये २९ हजार ७६९ मत सदर भएको छ । जसमा मण्डलले १३ हजार ६५ मत प्राप्त गर्दा साहले ८ हजार ३२२ मत ल्याएका छन् ।
अहिले जहदा गाउँपालिका ६ नम्बर वडाको गणना भइरहेको छ । सो वडामा १ हजार ५७४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । मोरङ ५ (१) मा ४७ हजार ४५५ मतदाता थिए ।
मण्डल काँग्रेसका महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।

