विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन सुरु भएको छ । प्रदेशसभामा सरकारको तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका छन् ।
सो क्रममा संक्षिप्त मन्तव्य दिँदै कार्कीले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताएका छन् ।आफ्नो नेतृत्वमा सरकार गठन भएपछि प्रदेशको नामकरण गर्नु महत्वपूर्ण उपलब्धी भएको उनले बताए ।
उनले नीति तथा कार्यक्रम आउने अघिल्लो दिन र बजेट आउनु भन्दा ९ दिन अगाडि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गरे । कोशी प्रदेश भित्र त्यहीबाट अस्थिरताको खेल सुरु भएको बताउँदै मुख्यमन्त्री कार्कीले त्यही कारण संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताए ।