अब पनि, दुख पाइस् मंगले आफ्नै ढंगले नहोस् !

  पुण्य पी अधिकारी

चुनाव मिति नजिकिएसँगै दलका प्रतिनिधि,स्वतन्त्रसहितका उम्मेदवार मत माग्न व्यस्त भएका छन् । मोरङका कतिपय निर्वाचन क्षेत्रका उम्मेदवारलाई स्थानीयले किन ? भोट दिनुपर्ने भन्दै प्रश्न गरेका छन् । विगतका चुनावमा गरेका वाचा र घोषणापत्रमा लेखिएका नाराहरू किन कार्यान्वयन भएनन् भन्दै भोट माग्न घरदैलो पुगेका उम्मेदवारलाई मतदाताले खेरेका छन् । आजको विषय व्यक्ति रूपमा भन्दा राजनीतिक प्रवृत्ति र त्यसले निम्त्याएको विषयमा केन्द्रीत छ । मोरङ क्षेत्र नं. २ राजनीतिक हिसाबले विशेष क्षेत्र पनि हो । कोइराला परिवारको विरादरी थाम्ने गरी सुजता कोइरालाको उम्मेदवारी छ भने एउटा इतिहास कायम गरेको कांग्रेसको किल्ला भत्काएर विजयको उद्भव गरेका एमाले नेता ऋषिकेश पोखरेलको प्रतिनिधिसभाका लागि उम्मेदवारी छ । आजको विषयमा व्यक्तिवादी भन्दा पनि जनताको मत पाएपछि देखिएको प्रवृत्तिसँग जोडिएको छ ।

०७४ को संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. २ बाट विजयी भएका कांग्रेसी नेता डा.मिनेन्द्र रिजाल यस पटक चुनावी लडाइमा छैनन् । यस क्षेत्रका जनताको विश्वासमा एक पटक निर्वाचन क्षेत्र नं.२ बाट विजय हासिल गरेका रिजालले आफ्नो कार्यकालमा उल्लेखनीय काम गर्न सकेनन् । उनी पनि जितपछि प्रवृतिवादी राजनीतिमा सक्रिय भए ।

मङ्सिर ४ गते नजिकिदै गर्दा मोरङ २ मा चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रको विकासका एजेण्डा भन्दा पुरानो विरादरी र आवश्वासनका पोका उम्मेदवारहरूले फ्याकी रहेका छन् । अब पनि यस क्षेत्रका मतदाताले निधार खुम्च्याएर नसोच्ने हो भने विकाससहित आर्थिक,सामाजिक रूपान्तरणका हिसाबले मोरङ २ का जनताको अवस्था सुध्रिन निक्कै मुस्किल हुनेछ । गिरिजाप्रसादको छोरी भन्दैमा मतदान दिने, किसानको छोरोलाई मतदान दिने वा हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएर स्वतन्त्र भन्दै भोट माग्नेलाई मतदान दिने त्यो निर्णय तपाईको हात छ । तर, अब मङ्सिर ४ गते मतदान गर्नुअघि रतुवा खोलामा विगत १५ वर्षदेखि अलपत्र पुलको विषयमा सोच्ने कि नसोच्ने, देशकै महत्वको हुलाकी राजमार्गको दुरावस्थाका विषयमा सोच्ने कि नसोच्ने प्रश्न गर्ने बेला तपाई स्वयम्लाई आएको छ ।

निर्वाचन क्षेत्र नं.२ का मतदाताको दुख भनेकै हुलाकी राजमार्ग र रतुवा खोलामा पुल हो । अब पनि त्यो सत्यलाई भुलेर आवश्वासनका भरमा मतदान दिएर निर्वाचित गराउनुको नजिता के होला गमखान आवश्यक भएको छ । संसदीय निर्वाचनका सन्दर्भमा मोरङ क्षेत्र नं. २ विविध विषयले चर्चामा हुन्छ । ०४८, ०५१ र ०५६ मा गिरिजाप्रसाद कोइरालाले जितेको यस क्षेत्रमा विकासका उल्लेखनीय काम हुन सकेनन् । मोरङका स्थानीयले झापा जानका लागि वासको फड्के तर्दा कर तिर्नुपर्ने अवस्था अन्त्यका लागि सबैभन्दा ठूलो भूमिका तपाईको छ । अझै पनि मासु भात वा चुनावका दिनको भोजले तपाईको सदाको पीडा र दुखलाई अन्त्य गर्न सक्छ एकफेर सोच्न अबेर भएको छ ।

०६४/०६५ मा निर्माणका लागि ठेक्का लागेको रतुवाखोलामा पुल १५ वर्षयता अलपत्र अवस्थामा छ । यो पुलको दुरावस्थासँग तपाईको, मेरो मतदानको सम्बन्ध प्रत्यक्ष गाँसिएको छ । यस क्षेत्रकै आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण कडी रहेको हुलाकी राजमार्ग वा रतुवाखोलामा पुल विजेता भएकाहरूले निर्माण गर्न किन चासो दिएनन् भन्नेतर्फ अब सोच्न जरूरी भएको छ । सधैँ एउटै मुद्दा लिएर हरेक पाँचपाँच वर्षमा भोट माग्ने आउने उम्मेदवारलाई अब तपाई चिन्नु पर्नेछ । अन्यथा, दुख पाइस् मङ्गले आफ्नै ढङ्गले भन्ने उक्ति सार्थक हुनेछ । धन्यवाद !

बिहिबार, २४ कार्तिक, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर