गणितको सरलरेखा जस्तो सोझो कहाँ हुन्छ र जिन्दगी ! यसको यात्रा नागबेली छ । गणितकै भाषामा भन्दा बक्ररेखा जस्तो । उकाली–ओराली, अनेकौं घुम्तीहरूसँगको जम्काभेट जीवनयात्राको अनिवार्य सत्य हो । जीवन सपनाहरुको पुञ्ज पनि हो । कति सपना विपनामा अनुवाद हुन्छन् । कति सपना क्षितिजभन्दा टाढा भइदिन्छन् ।
अनिशा विष्ट (बस्नेत) को जीवनमा पनि यी सत्यहरु लागु भए, भइरहेका छन् । कहिले सुखको उच्छवास, कहिले दुःखको सगरमाथा । कहिले हिँड्नै सकस पर्ने उकाली, कहिले खुट्टा काम्ने ओराली । कहिले सलल बग्ने समथर त कहिले घुम्ती नै घुम्तीको गोलचक्कर ।
यस्तै घुम्तीको गोलचक्करबीच अनिशाको जिन्दगीको रथ अगाडि बढ्यो । विराटनगरको हुनेखाने परिवारमा जन्मिएकी अनिशाको पढाइ राम्रै थियो । बाल्यकाल सुखद् बित्यो । तर, त्यो खुशी धेरै टिकेन । अनिशा ९ वर्षको छँदै आमा तुलसा बस्नेतको निधन भयो । उनले २०३८ कात्तिक २२ गते सुत्केरी आमालाई विराटनगरस्थित तत्कालीन कोशी अञ्चल अस्पतालमा गुमाइन् । दक्ष चिकित्सक र अहिलेको जस्तो अत्याधुनिक उपकरण नहुँदा उपचारको अभावले अकालमा ज्यान गुमाउन परेको उनी बताउँछिन् । त्योबेला १२ दिनको भाइ काखमा थियो । बाल्यकालमै आमा चाहिने बेलामा उनले आमाको भूमिका निर्वाह गरिन् । जसले गर्दा संघर्षले नै उनलार्ई अभिभावक बन्न सिकायो । पढ्न र पढाउन सिकायो, पौरखी बन्न सिकायो ।
आमाको निधनपछि भाइको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आइलाग्यो । पढने धेरै इच्छा हुँदाहुँदै पनि विवाह छिट्टै भएकाले सोचे जति पढ्न उनले पाइनन् । उनले बीकमसम्मको अध्ययन गरिन् । उनको २०५० मंसिर २७ गते डा.वीरेन्द्रकुमार विष्टसँग विवाह भयो । त्यसबेला डा.विष्टले एमबिबिएस मात्र गरेका थिए । हरेक सफल मानिसको पछाडि एउटी महिलाको हात हुन्छ भने जस्तै अनिशाले पनि आफ्नो श्रीमानको सम्पूर्ण जिम्मेवारी आफूले लिइन् र डा.विष्ट न्यूरोलोजी एमडी गर्न युनिभर्सिटी अफ लण्डनतर्फ लागे ।
डा.विष्ट लण्डन पढ्न गएको ६ दिनपछि अनिशाले कोशी अञ्चल अस्पतालमा छोरा ऋतिक विष्टलाई जन्म दिइन् । यसअगाडि छोरी रोशनीको जन्म भइसकेको थियो । उनी २ वर्षकी थिइन् । त्यसबेलाको सघर्ष, दुःख, पीडा भएपनि श्रीमान् पढेर, डिग्री लिएर आउने खुशीले सबै दुःख बिर्सिइन् । समय बित्दै गयो । डा.विष्ट पढाइ सकेर लण्डनबाट नेपाल फर्किए । त्यसबेला नेपालमा एकदमै कम न्युरोलोजिष्टहरू थिए ।
अनिशाले अतित सम्झिइन्, ‘विराटनगर आएलगत्तै डा.विष्टले तत्कालीन कोशी अञ्चल अस्पतालमा ६ महिना काम गरी राजीनामा दिए । त्यो बेलामा कोशीमा न्युरोलोजी विभाग थिएन ।’ दम्पत्तीको आफ्नै अस्पताल खोल्ने योजना बन्यो । सल्लाह अनुसार विराटनगरस्थित शनिहाटमा १० शैय्याको हस्पिटल खुल्यो । अस्पतालको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी अनिशाले सम्हालेकी थिइन् ।
अस्पतालको उद्घाटन तत्कालीन बेलायती राजदूत रोलाल्ड पिनाष्टले गरेका थिए । ‘अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दैगयो’ उनले पुराना दिन सम्झिइन् ‘बिरामीको संख्या बढ्दै गएपछि थप सेवाहरू पनि क्रमशः बढाउँदै लग्यौं र २०६० सालमा आफ्नै भवनमा (हाल रहेको) ५० शैय्याको न्युरो अस्पताल विस्तार गरियो ।’
न्युरोलोजी सँगसँगै न्यूरो सर्जरीको पूर्वाञ्चलमै ठूलो अभाव थियो । प्रायःजसो सबै मानिस भारतको सिलिगुडी जाने गरेका थिए । यसैबीच २०६५ सालमा डा.यमबहादुर रोकाको नेतृत्वमा न्युरो सर्जरी सेवा पनि शुभारम्भ भयो । न्युरो सर्जरी सेवा शुरु भएपछि पूर्वाञ्चलका बिरामीहरूले भारत गएर उपचार गराउनुपर्ने बाध्यताको अन्त्य मात्र भएको छैन, भारतका बासिन्दालेसमेत उत्कृष्ट स्वास्थ्य सेवाबाट लाभ लिइरहेका छन् । हाल अस्पताल १५० शैय्याकोे छ । जसको नेतृत्व एउटी नारी अर्थात उनै अनिशाले गरेकी छन् ।
अस्पतालको कार्यकारी निर्देशक भएर उनले नेपालकै एक प्रतिष्ठित स्वास्थ्य संस्थाको रूपमा न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई स्थापित गराउन सफल भएकी छन् । धैर्यता र सहनशीलताकै गुणले उद्यम, व्यवसायमा संघर्षरत रहन प्रेरित गर्ने उनी बताउँछिन् । अनिशा एउटा कार्यकारी निर्देशक तथा जीवन सङ्गिनीको रूपमा त सफल छिन् नै एउटा आमाको रूपमा पनि उनको उपलब्धि गर्व गर्न लायक छ ।
अनिशाका दुई सन्तानमध्ये छोरी रोशनी अहिले डाक्टर भइसकेर केएमसी हस्पिटलमा कार्यरत छिन् भने छोरा ऋतिक एमबिविएस गर्दैछन् । जोकसैले पनि रुचिकै विषयलाई पेशामा परिणत गरे सफल हुन सजिलो छ । तर, त्यसका लागि लगन, धैर्य र संघर्ष जारी राख्नुपर्छ । यसै गरिन् अनिशाले पनि । त्यसैले त उनी अहिले आफ्नो क्षेत्रमा अब्बल सावित भएकी छन् ।
अनिशालाई आजको सफलता कसैले बकसमा दिएको होइन । उनलाई संघर्षले यो स्थानमा पु¥याएको हो । संघर्षशील महिलाले नेतृत्व गरेर स्थापित भएको हस्पिटलको रूपमा अहिले न्यूरो परिचित भएको छ । ‘महिलाले नेतृत्व गरेको कारणले अहिले अस्पताललमा रोजगारी पाएका ७० प्रतिशत महिला छन्,’ उनले भनिन् ।
बुवा हेमराज र आमा तुलसा बस्नेतको कोखबाट २०२९ पुस २० गते अनिशाको जन्म भएको हो । संर्घषशील अनिशा विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि आवद्ध छिन् । उनी धार्मिक तथा सामाजिक कार्यहरुमा संलग्न भए अस्पतालमार्फत विभिन्न प्रकारका स्वास्थ्य सेवा र जनचेतना मुलक कार्यक्रमहरु पनि गर्दै आएकी छन् । उनी २०५७ सालदेखि न्यूरो अस्पतालको कार्यकारी निर्देशक भएर अस्पताल सम्हालेपछि सामाजिक काम पनि उत्तिकै गर्दै आएकी छिन् ।
कृष्णगंगगा फाउन्डेशनमा आवद्ध रहेर लागु पदार्थ प्रयोगकर्ताहरुकोे उपचार र न्यूनीकरणमा पनि कार्यरत रहेकी छन् । यस्तै न्यूरो हेल्थ कलेजको निर्देशकको हैसियतमा स्वास्थ्य क्षेत्रमा कार्य गर्न इच्छुकलाई शैक्षिक कलेज स्थापना गरेर दक्ष जनशक्ति उत्पादनमा पनि लागिपरेकी छन् । उनी लर्डबुद्ध कलेजको निर्देशक पनि हुन् ।
आमाको स्मृतिमा अर्को हस्पिटल
दक्ष चिकित्सक र अहिलेको जस्तो अत्याधुनिक उपकरण नहुँदा उपचारको अभावले अकालमा आफ्नो आमाले जस्तो अरु आमाहरूले ज्यान गुमाउनु नपरोस् भनेर अनिशाले आफ्नै आमाको नामबाट न्यूरोको बिस्तारित शाखाको रुपमा तुलसा मदर एण्ड चाइल्ड हस्पिटल संचालनमा ल्याइन् । विराटनगरको महेन्द्रचौकमा विस्तारित शाखा तुलसा मदर एण्ड चाइल्ड हस्पिटल ५० शैय्याको छ ।
‘मेरो भाइलाई जन्म दिएपछि मेरी आमाले संसार छोडेर जानुभयो । त्यसबेला भाइ १३ दिनको मात्रै भएको थियो । म ९ वर्षको थिएँ । अहिलेजस्तो उपकरण र भरपर्दो उपचार नपाएर अकालमा मेरी आमाले ज्यान गुमाउनुभयो’ भावुक स्वरमा उनले भनिन्, ‘मेरो आमाले जस्तो अरू कसैको आमाले जस्तै भरपर्दो उपचार नपाएर कसैको ज्यान नजाओस् भनेर आमाको नाममा शाखा विस्तार गरेको हुँ ।’
अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शैलजा क्षेत्री श्रेष्ठ र वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साहबाट दैनिक सेवाहरू सुचारु हुँदै आएको छ । ‘आज म प्रत्येक दिन कम्तीमा एउटा आमालाई बचाउन भूमिका खेलिरहेको छु । यही नै हो मेरो आमाप्रतिको सच्चा श्रद्धाञ्जली,’ उनले भनिन् ।