विराटनगर । प्रदेश १ का व्यवसायीक सोच भएकाहरुका लागि मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर आफ्नो व्यवसायिक आईडिया पेश गर्न सक्ने गरी आवेदन खुल्ला भएको छ ।
नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आईडिया स्टुडियो नेपालले उक्त आवेदन खुल्ला गरेका हुन् । त्यसका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्य गरिएको छ ।
‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’को आवदेनका लागि अक्टोबर १२ सम्म अन्तिम मिति रहेको छ । प्रदेश एक भरका इच्छुकहरुले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर आफ्नो व्यवसायिक आईडिया पेश गर्न सक्ने छन् ।
पेश भएका आवदेनमध्ये एग्री विजनेस इन्क्युबेसन प्रोग्रामका लागि उत्कृष्ट दश आईडिया सर्टलिस्टेड गरिनेछ । ती आईडिया पेश गर्ने प्रतिस्पर्धीहरुले १ हप्ता लामो वृहत उद्यमशिलता सम्बन्धि प्रशिक्षण बूटक्याम्प, पाँच महिना लामो मेन्टरशिप र व्यवसायिक विकास इन्क्युबेसनमा सहभागिताको अवसर पाउन सक्ने छन् । एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम अन्तर्गत सहभागीहरुले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति र वित्तीय सहयोग पाएर मार्केट रेडी कमर्सियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न सक्ने छन् ।
उक्त समारोहमा नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) फेज २ की रीमा श्रेष्ठले दोस्रो चरणको बारेमा जानकारी दिएकी थिइन् । उनले कार्यक्रमको लक्ष्य मकै, अलैची, डेरी र तरकारीहरु (चार क्षेत्रहरुमा कृषि व्यापार उत्पादनहरु वा सेवाहरुको मूल्य, सेवाहरु र प्रशोधनको लागी प्लेटफर्म प्रदान गर्ने बताइन् ।
‘एनएएमडिपी दोस्रो चरणको उद्देश्य स्थानीय संगठनको क्षमता विकास गरेर अझै यस्तै कार्यक्रमहरु प्रदेश १ मा ल्याउनु हो,’ उनले भनिन् । पूर्वाञ्चल विश्वविद्यालयका उप डीन सोनीला शाक्यले पोखरा विश्वविद्यालयमा इन्क्युबेसन सेन्टरको सुरुवात तथा प्रदेश १ मा एग्रि विजनेस इन्क्युबेसन प्रोग्रामको आवश्यकताबारे धारणा राखिन् । उनले यस्ता कार्यक्रमले उद्यमीलाई नविनतम विचार सोच्न प्रोत्साहन गर्ने बताइन् ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले धेरैभन्दा धेरै स्टार्टअपहरुलाई आफ्नो व्यापार बजारीकरण गर्नको लागि प्रशिक्षित गर्न आवश्यक रहेको बताए । ‘धेरै देशहरु पहिले नै उद्यमि पारिस्थितिकी तन्त्रको विकासमा लगानी शुरू गरिसकेका छन् र यो कार्यक्रम कार्यान्वयनद्वारा प्रदेश १ को धेरै भन्दा धेरै उद्यमीहरुलाई मद्दत गर्ने छ’, उनले भने ।
भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयका डिभिजन प्रमुख पशुपति पोखेलले प्रदेश १ को उद्यमी पारिस्थितिकी तन्त्र निर्माण गर्न खोजिरहेको बताउँदै त्यसलाई बढावा दिनको लागि, साझेदार संगठनबाट सबै प्रतिनिधि संस्थाहरु क्षमता विकास कार्यक्रममा समावेश हुने बताए । ‘यो कार्यक्रम एक सुरुवात हो, हामी आउने दिनहरुमा विभिन्न क्षेत्रहरुमा यो जस्तै धेरै कार्यक्रमहरु आरम्भ गर्ने लक्ष्य राख्दछौं’, उनले भने ।
आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले प्रदेश एकमा इन्क्युबेसन सेन्टर सुरु गर्नुको उद्देश्य प्रष्ट्याउँदै नेपाल ३ प्रमुख क्षेत्रहरू (ज्ञान, नीति र अभ्यासमा काम गर्दछौ) आइडिया स्टुडियो भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघ जस्ता स्थानीय संगठनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
आइडिया स्टुडियो नेपाल विगत सात वर्षदेखि विभिन्न स्टार्टअप र व्यवसायसँग नजिक भएर काम गरिरहेको छ । ‘यो एक सुरुवात हो र हामी नेपालको पारिस्थितिकी तन्त्रलाई बढावा दिन धेरै संगठनहरु र व्यवसायसँग सहयोगको लागि तत्पर छौं’, डा. लामाले भने । सो अवसरमा एग्री विजनेस इन्क्युबेसन प्रोग्रामको पोस्टर र वेबसाइट www.agribusinessnepal.com पनि सार्वजनिक गरिएको थियो ।