डिल्ली पोखरेल
सहकारी एउटा सामुदायिक व्यवसाय हो । यसको स्वामित्व सबै सदस्यको हुन्छ । यसको सञ्चालन र नियन्त्रण सदस्यहरुले गर्दछन् । प्रजातान्त्रिक प्रक्रियाको आबलम्वन गरेर नेतृत्व चयन गर्ने र यसरी चयन भएको नेतृत्वले सदस्यहरुको चाहना र हितका निमित्त कार्य गर्ने सहकारीताको सुन्दर पक्ष हो । पूँजीको प्रधानता हुदैन, व्यक्ति प्रधान हुन्छ । व्यक्तिको आवश्यकतालाई सामूहिकताको आधारमा पूरा गरिन्छ । आवश्यकता र उपलब्ध साधनहरुको बाँडफाँड न्यायोचित तवरले समूहगत रुपमा गरिन्छ ।
सहकारी न पूँजीवादी अर्थव्यवस्था हो, न साम्यवादी । यसका केही गुणहरु पूँजीवादीसँग पनि मिल्छन्, केहि गुणहरु साम्यवाद– समाजवादसँग मिल्छन् । सहकारीको मोडल यी दुबै अर्थव्यवस्थाका अनुयायीहरुका लागि उपयुक्त छ । त्यसैले आज विश्वका झन्डै शतप्रतिशत मुलुकमा सहकारीले प्रवेश पाएको छ । झन्डै दुईतिहाई मुलुकमा त सहकारी अर्थ व्यवस्थाको सफल मोडेलका रुपमा स्थापित छ । झट्ट हेर्दा यो गरिब तथा बिकासोन्मुख देशका लागि बढी उपयुक्त हो जस्तो लाग्छ । तर, वास्तविकता त्यस्तो होईन । अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी जस्ता धनी र सम्पन्न देशले सहकारी अर्थव्यवस्थालाई प्रयोगमा ल्याएका छन् । सरकारी र निजी क्षेत्रभन्दा पनि उच्च प्राथमिकतामा सहकारी क्षेत्र छ ।
केही उदाहरणहरुलाई विश्लेषण गर्दा हामी प्रष्ट हुनसक्छौ की सहकारी अर्थतन्त्रको एउटा सफल प्रारुप हो । अमेरिकालाई विश्वको सम्पन्न र नं. १ शक्तिशाली राष्ट्रका रुपमा लिईन्छ । यो देशमा ५० वटा राज्यहरु छन् । ती राज्यमध्ये ४७ वटा राज्यमा ९ सयभन्दा बढी बिद्युत सहकारी संस्था छन् । तिनिहरुले ४ करोड ५० लाखभन्दा बढी नागरिकलाई विद्युत सेवा प्रदान गरेका छन् । अमेरिकाको कुल विद्युत वितरणमा ४२ प्रतिशत योगदान सहकारीको छ ।
जापान विश्वको अर्को सम्पन्न देश हो । त्यहाँको उपभोग्य सामाग्रीको उत्पादन, बिक्री, वितरण र बजारीकरणमा सहकारी संघ/संस्थाको ठूलो हिस्सा छ । जापानमा रहेको एउटा Consumer Cooperative Union सँग मात्र २ करोड ८० लाख सदस्य छन् । ३ हजार २ सयभन्दा बढि उपभोग्य सामानको बिक्रि वितरण गर्छ । कतिपय सामानहरुको उत्पादन आफैं गर्छ र अन्तराष्ट्रिय व्यापारमा पनि संलग्न छ । छिमेकी मुलुक भारतमा रहेको The Gujrat Cooperative Milk Marketing Federation Ltd.(AMUL) यस्तै अर्को उदाहरणीय संस्था हो । यसले प्रत्येक दिन ४५ लाख लिटर दूध बिक्रि गर्छ । नेपाल लगायत ४५ भन्दा बढी देशमा आफूले उत्पादन गरेको वस्तु तथा सेवाहरुको निर्यात गर्छ र वार्षिक ६० अरब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्छ ।
यस्ता लाखौं सहकारी संस्थाहरु छन्, जसले मुलुककै ग्रहास्थ्य उत्पादनमा योगदान गरिरहेका छन् । पछिल्लो तथ्यांक अनुसार विश्वमा अहिले झन्डै ३२ लाख सहकारी संघ÷संस्थाहरु छन् । जसमा झन्डै १ अरब ३० करोड मानिसहरु सदस्यका रुपमा आवद्ध छन् । यो विश्वको कूल जनसंख्याको झन्डै २० प्रतिशत हो । यसबाट अप्रत्यक्ष रुपमा प्रभावितको संख्या त ३ अरबभन्दा बढी छ । एउटै क्षेत्रमा यति धेरै मानिसहरु आवद्ध भएको विश्वमै अर्को कुनै क्षेत्र छैन, अर्को कुनै संगठन छैन । अर्थात विश्वको सबैभन्दा ठूलो संगठन संयुक्त राष्ट्र संघपछिको सहकारी संघठन हो । धनी, गरिब सबै देशमा सहकारी संघठन वा क्षेत्र विस्तार भएको छ ।
क्यानडा र नर्वे जस्ता सम्पन्न राष्ट्रको प्रत्येक ३ जना मानिसमा १ जना सहकारी सदस्य बनेका छन् । जर्मनी र अमेरिकामा प्रत्येक ४ जनामा १ जना सदस्य बनेका छन् । आयसल्याण्ड, फिनल्याण्ड र सिंगापुरमा कुल जनसंख्याको क्रमशः ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत मानिसहरु सहकारीका सदस्य बनेका छन् । चिनमा २० करोडभन्दा बढी, बेलायतमा झन्डै डेढ करोड र भारतमा २५ करोड भन्दा बढी मानिसहरु सहकारीमा प्रत्यक्ष रुपले आवद्ध छन् । यी तथ्यांकले के स्पष्ट पार्दछ भने मानिसहरुको आकर्षण सहकारीप्रति निक्कै छ ।
आर्थिक कारोबार, रोजगार श्रृजना आदि हिसाबले पनि सहकारी क्षेत्र विश्वमै महत्वपूर्ण क्षेत्रको रुपमा स्थापित छ । सहकारीले निजी क्षेत्रको भन्दा पनि बढी प्रतिशतलाई रोजगारी प्रदान गरेको छ । अर्थात रोजगारी श्रृजनामा सहकारीको विश्वमा ठूलो योगदान छ । यस क्षेत्रबाट विश्वभरी झन्डै ३० करोड मानिसलाई प्रत्यक्ष रोजगारी प्रदान भएको छ । जुन विश्वको कूल रोजगारीको झन्डै ११ प्रतिशत हो । अमेरिकामा मात्र पनि २० लाख मानिसहरुले सहकारीबाट प्रत्यक्ष रोजगारी पाएका छन् । ईटालीमा ११ लाख, फ्रन्समा १० लाख मानिस सहकारीमा रोजगार छन् । जी–२० मुलुकको कूल प्रत्यक्ष रोजगारीमा सहकारीको योगदान १२ प्रतिशत रहेको छ । ३ अरबभन्दा बढीले कुनै न कुनै रुपले सहकारीबाट लाभ प्राप्त गरिरहेका छन् । विश्वमा सरदर २.१ खर्ब अमेरिकी डलरको वार्षिक कारोवार सहकारीको क्षेत्रबाट हुुने गरेको छ ।
विश्वको सफलताको यही पाठको अनुसरण गर्दै अहिले नेपाल पनि सहकारी क्षेत्रबाट आफ्नो अर्थतन्त्रलाई मजबुत बनाउने रणनीतिका साथ अगाडि बढिरहेको छ । पछिल्लो समय राज्यले सहकारी क्षेत्रलाई आर्थिक परिचालनको उच्च प्राथमिकतामा राखेको छ । संबिधानमै अर्थतन्त्रका तीन खम्बा सरकारी, नीजी र सहकारी उल्लेख गर्नु यसको राम्रो उदाहरण हो । हाम्रो मुलुक लामो समयसम्म एकतन्त्रीय शासन प्रणलीबाट सञ्चालित भयो । प्रजातन्त्रको गुण बोकेको सहकारी त्यस प्रणालीमा फस्टाउन पाएन । सहकारी सुन्दर पक्षहरुले मौलाउने र विस्तार हुने अवसर त्यस समयमा पाएनन् । जसकै कारणले पनि मुलुकको अर्थतन्त्र सुध्रिएन । देश झन् गरिब बन्दैगयो र संसारमै गरिब तथा विपन्न मुलुकमध्येमा हामी दर्ज भयौं ।
राजनीतिक परिवर्तन पश्चातको समयमा नेपालमा सहकारीको विकास र प्रवद्र्धन व्यापक हुँदै गएको छ । सहकारीको संगठन उदाहरणीय रुपले बढेको छ । झन्डै ३० हजारको संख्यामा सहकारी संघ/संस्थाहरु दर्ता भएका छन् । ७३ लाखभन्दा बढी नेपाली जनताहरु सदस्यका रुपमा सहकारीमा आवद्ध छन् । जसमा ५६ प्रतिशत महिलाको हिस्सा छ । मुलुकको सबै पालिकाहरुमा सहकारी संस्थाहरु पुगेका छन् । देशको कूल वित्तीय कारोबारमा २० प्रतिशत भन्दा बढीको योगदान सहकारीको छ । वाणिज्य बैंकहरुपछिको सबैभन्दा ठूलो वित्तीय परिचालकका रुपमा सहकारी क्षेत्र स्थापित छ । मुलुकको कूल ग्राहस्थ उत्पादनमा ५ प्रतिशतभन्दा बढीको योगदान सहकारीको छ ।
नेपाल गरिब राष्ट्र हो । हामी गरिबीको यो दृष्चक्रलाई तोड्न चाहन्छौं । समृद्ध नेपाल र सुखी नेपाली हामी सबैको चाहना हो । यसका लागि हामीले आफूसँग भएको साधन र श्रमको सही काममा उच्चतम प्रयोग गर्न सक्नुपर्दछ । हामीसँग पूँजीको अभाव छ, शीप र साधनको कमी छ, वस्तु तथा सेवा माथि हाम्रो पहुँच छैन, परनिर्भता घटनुको सट्टा बढिरहेको छ, स्वरोजगार बन्न सकेका छैनौ, रोजगारीका लागि आफ्नो श्रम विदेशमा बेच्नु परिरहेको छ । कृषिप्रधान देश भएर पनि कृषि उपज विदेशबाट आयात गर्नुपरेको छ, व्यवशायिक्ता छैन, प्रविधि न्यून छ । यस्ता थुप्रै समस्याहरु छन्, यी सबै समस्याहरुको समाधान नगरेसम्म देशको समृद्धि सम्भव छैन । त्यसैले सहकारीको यो क्षमता, शक्ति र पहुँचलाई यिनै समस्या समाधानमा लगाउनु पर्दछ । यसो भए हामी सबै नेपालीको चाहाना सम्बृद्ध नेपाल र सुखी नेपालीलाई सार्थक बनाउन सकिन्छ । विश्वले यसको उदाहरण दिईसकेको छ ।