वाइन उद्योगहरू धरासायी

नेपाली उद्योगबाट उत्पादित वाइनमा प्रतिकार्टुन १ हजार ७०० रुपैयाँ अन्तशुल्कमा वृद्धि, आयातित विदेशी वाइन सस्तो पर्ने

विराटनगर । सरकारले आयातित विदेशी उत्पादनमा भन्दा बढी अन्तशूल्क लगाएपछि नेपाली वाइन उत्पादक उद्योगहरु धराशायी बनेका छन् । घरेलु उद्योगका रुपमा दर्ता भई सञ्चालनमा रहेका वाइन उद्योगहरु अन्तशूल्क वृद्धिसँगै विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न नसकि बन्द हुने अवस्थामा पुगेका छन् ।

प्रदेश १ मा वाइन उत्पादन गर्ने दुई वटा उद्योग छन् । संखुवासभामा हिङ्वा ब्राण्डको वाइन उत्पादन हुँदै आएको छ भने धनकुटामा प्रिन्सेस ब्राण्डको वाइन उत्पादन गर्ने नयाँ उद्योग खुलेको थियो । नेपालमा वाइन उत्पादन गर्ने यस्ता एक दर्जन उद्योग छन् । पछिल्ला दुई महिनादेखि ती उद्योगहरुले उत्पादन बन्द गरेर आयातित स्वदेशी उत्पादनमा वृद्धि भएको अन्तशूल्क घटाउन दवाव दिँदै आएका छन् ।

घरेलु उद्योगको रुपमा स्वीकृति लिएर स्थापना भएको उद्योगबाट उत्पादित वाइनमा प्रतिकार्टुन १ हजार ७०० रुपैयाँका दरले अन्तशूल्क वृद्धि गरेको नेपाल मदिरा व्यवसायी संघ मोरङका अध्यक्ष विनोद केसीले जानकारी दिनुभएको छ । परिवर्तित राजश्व दर अनुसार नेपाली उद्योगले उत्पादन गरेको वाइनको प्रतिलिटर अन्तशूल्क ४१५ रुपैयाँ तिर्नु पर्ने भएको छ भने विदेशी उत्पादनले ३१५ रुपैयाँ मात्र तिर्नुपर्छ ।

सरकारले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने गरी राजश्वमै फरक दर लागु गरेपछि ८० प्रतिशत वाइन उद्योग संकटग्रस्त हुने चिन्ता व्यवसायीहरुले व्यक्त गरेका छन् । केही दिन अघि विराटनगरमा आयोजित आन्तरिक राजश्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पनि प्रदेश १ का अधिकांश व्यवसायीहरुले स्वदेशी उद्योगहरु संकटग्रस्त बन्दै गएको र वाइन उद्योगहरु बन्दै हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरेका थिए ।

केही समय अघिसम्म वाइन उद्योगहरु नेपालमा फस्टाउँदो क्रममा थिए । विदेशी वाइनका ब्राण्डहरुको माग निरन्तर घटिरहेको सन्दर्भमा सरकारले स्वदेशी उद्योगमा नकारात्मक प्रभाव पर्नेगरी अन्तशूल्क वृद्धि गरेको हो । प्रतिबोटल ५५० रुपैयाँदेखि ७५० रुपैयाँमा राम्रो गुणस्तरको नेपाली वाइन पाइने गरेको बजारमा भारतीय वाइनलाई करिव ९०० को हाराहारी तिर्नुपथ्र्यो । अन्तशूल्कमा आएको परिवर्तनपछि नेपाली वाइनको मूल्य न्यूनतम ७५० देखि ९५० सम्म पर्ने भएपछि नेपाली उत्पादनले प्रतिष्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको हो । स्वदेशी र विदेशी वाइनको समान मूल्य हुँदा उपभोक्ताहरुले नेपाली उत्पादन कम रोज्ने गरेको व्यवसायीहरुले बताएका छन् ।

आन्तरिक राजश्व कार्यालय विराटनगरले अघिल्लो महिना सार्वजनिक गरेको विवरणमा अन्तशूल्क संकलनको अवस्था न्यून देखिएको थियो । मदिरा उत्पादन गर्ने संस्थाहरुको कारोवारमा न्यून हुँदा अन्तशूल्क थप प्रभावित भएको हो ।

कोरोना महामारीपछि रक्सीको खपतमा पनि भारी गिरावट आएको छ । लकडाउनको बेला बजारमा मदिरा अभाव भएको र मानिसहरुले मदिरा कम पिउन थालेका थिए । महामारीमा रोजगारी गुमाएकाहरुले सस्तो रक्सिमा लत बसाएका कारण पनि गुणस्तरीय रक्सीको बजार खस्किएको छ । यसले पनि राजश्वमा असर परिरहेको व्यवसायीहरुको अध्ययनले देखाएको छ । उच्च गुणस्तरको रक्सी उत्पादन गर्दै आएका अधिकांश डिष्टिलरीहरुले पोलीप्याकमा सस्तो ब्राण्डका रक्सी उत्पादन गर्न थाल्नुले मदिराको बजार खस्किएको पुष्टि हुने संघका मोरङ अध्यक्ष केसीको भनाइ छ । बजारमा मदिराको माग घट्नु, मदिराको लत भएकाहरुले सस्तो उत्पादन रोज्नु, बेरोजगारी समस्याले धेरैले मदिरा सेवन गर्न छोड्नु आदिले सानाठूला सबै उद्योगहरु जोखिममा छन् ।

आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख तीर्थ बरालले वाइनको वर्गिकरणका आधारमा अन्तशूल्क रकम फरक परेको हुनसक्ने बताउनुभयो । नेपालमा अंगुरबाट वाइन बन्ने सम्भावना नरहेकोले पनि वर्गिकरणमा फरक परेको हुनसक्ने उहाँको भनाइ छ ।

अर्कोतर्फ नेपाली वाइन उद्योगहरुले आफ्नो उत्पादनमा चिनीको मात्रा बढी प्रयोग गर्ने र फलफूलको प्रयोग कम गर्ने गरेको पाइएकोले गुणस्तर कायम राख्न वर्गिकरण गर्ने र अन्तशूल्कमा फरक दर निर्धारण गरिएको हुनसक्ने राजश्व क्षेत्रका जानकारहरुले बताएका छन् ।

शुक्रबार, १४ फागुन, २०७७, बिहानको ११:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर